Main News

प्रधानमन्त्रीको मिडियामाथि आक्रोश : नर्क जान्छन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते ७:१५
प्रधानमन्त्रीको मिडियामाथि आक्रोश : नर्क जान्छन् (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रयोग गर्ने भाषामा असन्तुष्टि जनाउनुभएको छ । अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न उठाउनुभयो । आफू निकट पत्रकारको भेलामा प्रधानमन्त्री ओलीले कस्तो भाषा प्रयोग गर्ने भनेर सिकाउने कोशिस पनि गर्नुभयो ।

संचार माध्यमले प्रयोग गर्ने भाषाका बारेमा प्रधानमन्त्रीको असहमति नयाँ होइन, तर जब जब आफ्नै कारणले उहाँ बढी आलोचित हुनुहुन्छ, ठीक त्यति बेला यो विषय प्रधानमन्त्रीले उठाउने गर्नुभएको छ । फेरि एक पटक प्रधानमन्त्री ओलीले संचार माध्यमले तिमी प्रयोग गर्ने गरेकोमा चर्को आपत्ति जनाउनुभयो ।

आफ्नो पार्टी निकट पत्रकारको भेलामा पनि प्रधानमन्त्री ओलीले तिमी शब्द प्रयोग गरेकोमा आपत्ति मात्रै जनाउनुभएन । कस्तो भाषा प्रयोग गर्ने भन्ने समेत सिकाउनुभयो । त्यति मात्रै होइन, राजदरबार हुँदा बक्सियोस लेख्ने पत्रकार अहिले तिमी भन्छन् भन्दै व्यंग्य पनि गर्नुभयो ।

कुरा भाषाको होइन, खासमा संचार माध्यमकै भूमिका उहाँलाई मन परेको छैन । भाषा त एउटा देखाइएको कारण मात्रै हो । प्रधानमन्त्री त पित पत्रकारिता भैरहेको ठान्नुहुन्छ, किनकी सरकारको जसले विरोध गर्यो त्यो ठीक छैन । उहाँले यस्तो गर्नेहरु नर्कमा जान्छन भन्न समेत भ्याउनुभयो ।

प्रधानमन्त्रीमा आफू बाहेक अरु सबैलाई देश र जनता विरोधी देख्ने समस्या देखिएको छ । यो कुनै घट्ना विशेषका आधारमा नभई प्रधानमन्त्रीमा देखिएको सोचको समस्या हो । त्यसैले अरुको उछितो काढ्ने भन्दा प्रधानमन्त्रीले आफूलाई हेर्नुभयो भने समस्या कम हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *