Main News

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै बस्यो नमूना संसद् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ८ गते ६:०९
प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै बस्यो नमूना संसद् (भिडियो रिपोर्टसहित)

८ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता देशभर प्रदर्शन भइरहेको छ । विभिन्न समूहहरुले आ आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रतिनिधिसभा नभएपनि ६ महिना पछि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएपछि त्यहाँ पनि यसको विरोध भयो ।

तर सरकारले विरोधका स्वर सुन्न नपरोस् भनेर १० दिन नपुग्दै राष्ट्रियसभाको हिउँदे अधिवेशन पनि अन्त्य गरिदियो । तर बानेश्वरमा बस्ने राष्ट्रियसभा बैठक जस्तै दृष्य आज प्रदर्शनी मार्गमा पनि देखियो । जहाँ विघटनको विरोधमात्र भएन प्रधानमन्त्रीकै राजीनामा पनि मागियो ।

बिहानको साढे १० बजे ।

माघको चीसो

अनि चीसो भुईँ

काठमाडौंको प्रदर्शनी मार्ग । जुन मार्ग विभिन्न कालखण्डमा ठूलठूला आन्दोलनको साक्षी बन्यो । र बनिरहेकै छ । बुधबार बिहान पनि एकाएक यो सडकमा मान्छे भरिए । तर फरक पोशाकमा ।

त्यो नमूना संसद थियो, प्रतिनिसभा विघटनविरुद्धको संसद । जहाँ सदनका मुखिया अगाडि र माननीय लहरै बसेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन भइरहेका बेला यो समूह पनि विरोध गर्न चाहन्थ्यो । तर गर्ने कसरी ? अनि नेपाली टिन लिडर्सले सडकमै संसद राखेर आफ्नो असहमति प्रकट गर्‍‍यो । संघीय संसदको एउटा सदन कोमामा । अर्को सदनको ढोका पनि केही दिनमै सरकारले बन्द गरिदियो । त्यसैले उनीहरुले बानेश्वरमा बस्ने गरेको राष्ट्रियसभा बैठक प्रदर्शनी मार्गको सडकमै राखे ।

बैठक सडकमा भए पनि त्यहाँ संसदका हरेक प्रक्रिया अपनाइयो ।राष्ट्रियगानदेखि बोल्नका लागि माननीयलाई समय निर्धारणसम्म सबै । आखिर सडकलाई संसद किन बनाइयो त ?

प्रतिकात्मक संसद बैठकमा विशेष महत्वको प्रस्ताव दर्ता गरियो । जसमा सत्तापक्षदेखि विपक्षी सांसदसम्मले विघटनको विरोध गरे र खारेजीको माग गरे । आफूमाथि विरोधका आवाज उठ्ने भन्दै बानेश्वरमा बस्ने राष्ट्रियसभामा ताला लगाइदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै उनीहरुले प्रश्नको वर्षा गरे ।

बैठकमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक मात्रै भनेन न्यायालयबाट पुनर्स्थापना हुनुपर्ने सांकेतिक निर्णय पनि गर्‍यो । यति मात्र होइन राष्ट्रियसभाको यो बैठकले प्रधानमन्त्री पदमा बसिरहन लायक नरहेको भन्दै राजीनामा नै माग्यो ।

पुस १७ गत संवैधानिक बाध्यताका कारण राष्ट्रियसभाको हिउँदे अधिवेशन डाकिएको थियो । तर राष्ट्रियसभामा सरकारविरोधी आवाज झन चर्किन थालेपछि प्रधानमन्त्री ओलीले अधिवेशननै अन्त्य गरिदिनुभयो ।

जनताको सार्वभौम थलो सरकारको लाचार छायाँ बन्दा १० दिनमै संसदको अधिवेशन अन्त्य भयो । तर सडकबाट जन आवाज भने कम भएको छैन । जनताको संसदले सडक फरक फरक रुपमा हरेक दिन प्रश्न गरिरहेको छ । जसको उदाहरण बुधवारको नमूना संसद पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *