टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते २०:२९
टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ बाँके । मालपोत कार्यालय बाँकेमा बिचौलियाको चलखेल रोक्न टोकन प्रणाली सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको काम पहिला नै गर्ने गरी टोकन प्रणाली लागु गरिएको हो ।

जग्गाको किनबेच गर्ने, बैकबाट ऋण लिनका लागि घर जग्गा रोक्का गर्नेलगायतका जग्गा सम्बन्धी बिभिन्न कामका लागि मालपोत कार्यालय बाँकेमा सेवाग्राहीको भिड लाग्छ ।

यहाँ कहिल्यै पनि समयमा काम नै हुँदैन । एउटै कामका लागि एक हप्तासम्म धाउनु पर्छ ।

समयमा नै काम नहुने भएपछि मालपोत कार्यालयमा बिचौलिया हाबी भएका थिए । मालपोत कार्यालयका कर्मचारी र लेखापढी गर्ने ब्यक्तिबीच सेवाग्राहीबाट अतिरिक्त पैसा असुल्नका लागि मिलेमतो नै हुन्छ । उनीहरुले सेवाग्राहीलाई छिटो छरितो काम गराई दिने प्रलोभन दिएर राजस्व दस्तुरभन्दा अतिरिक्त पैसा लिएर काम गराइ दिन्थे ।

बिचौलियालाई अतिरिक्त पैसा नदिँदासम्म सर्वसाधारण सेवाग्राहीको काम नै हुँदैन । मालपोत कार्यालय कुशासन र भ्रष्टाचारको केन्द्रविन्दु बनेको छ । त्यसैले प्रशासनले मालपोतले दिने सेवामा सुधारको पहल थालेको छ ।

बिचोलियालाई प्रवेश निषेध गरिएको छ र टोकन प्रणाली लागू गरिएको छ । यसले मालपोतको सेवामा केही सुधार हुने अपेक्षा छ ।

टोकन प्रणाली लागु गरेपछि टोकन लिएकै दिन काम सकाउने मालपोत कार्यालयको प्रतिबद्धता छ ।

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि बाँकेका स्थानिय तहहरुबाट दश जना कर्मचारीहरुको व्यवस्था गरेर मालपोत कार्यालय परिसर मै हेल्प डेक्स स्थापना गरिएको छ । हेल्प डेक्समा खटिएका कर्मचारीले काममा सहयोग गर्न थालेपछि सहज हुने सेवाग्राहीको विश्वास छ ।

मालपोत कार्यालय बाँकेमा दैनिक १ सय ५० देखि २ सयसम्म जग्गा किनबेच रोक्का लगायतका कामहरु हुन्छ । एउटा कामका लागि ५–७ जनासम्म सेवाग्राहस् आउने भएका कारण मालपोत कार्यालयमा सधै भिडभाड हुन्छ । टोकन प्रणालीले यसलाई कम गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *