सिन्धुपाल्चोकका विपन्न परिवारलाई न्यानो सिरक वितरण

हिमालय टिभी
२०७७ माघ ६ गते १४:१९
सिन्धुपाल्चोकका विपन्न परिवारलाई न्यानो सिरक वितरण

६ माघ २०७७ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका स्याउलेमा एक सय पचास विपन्न परिवारलाई सिरक वितरण गरिएको छ ।

गाउँमा रहेका दलित तथा विपन्न परिवारका लागि सिरक वितरण गरिएको हो । सामान्य आयस्रोत समेत नहुँदा चिसोका कारण प्रभावित उनीहरुलाई स्थानीय समाजसेवी मिरा सापकोटा जोशी र थ्री सिस्टर्स फाण्डेसनकी निक्की कार्की मानन्धरको अगुवाइमा सिरक वितरण गरिएको हो ।

पुस–माघको जाडोमा न्यानो कपडा र ओड्ने ओछ्याउने नहुँदा रात काट्न समस्या भएको देखेपछि आफूहरुले विपन्न परिवारका लागि सिरक वितरण गरिएको समाजसेवी जोशीले बताउनुभयो ।

भूकम्पले घर भत्किएको छ । पुनःनिर्माण गरिएको घर पनि व्यवस्थित छैन । न्यानो ओड्ने ओछ्याउने नहुँदा वृद्धवृद्धा र बालबालिकालाई चिसोले रात काट्न गाह्रो छ । त्यसैले विपन्न परिवार छनोट गरेर सहयोग गरिएको जोशीले बताउनुभयो । आफूहरुको सहयोगले विपन्न परिवारमा थोरै भए पनि राहत पुग्ने कार्की मानन्धरको बताउनुभयो ।

सिरक पाएपछि जोडोमा रात काट्न सहज हुने भन्दै स्थानीयले खुसी ब्यक्त गरे । सिरक लिन आएकी शिवकुमारी विकले भन्नुभयो– जस्ताको छानो सितले चिसो भएर रात काट्नै गाह्रो थियो । अब न्यानो गरी सुत्न पाइने भयो ।

त्यस्तै अर्की वृद्धा मंगली तामाङले भन्नुभयो ‘यस वर्षको माघको जाडो अब सजिलै कट्ने भयो । भूकम्पपछिका पाँच हिउँद कष्टकर भयो । दिउँसो त घाम ताप्यो राती त औधी गाह्रो । अब भने ढुक्क भयो ।’

विपन्न परिवारलाई थ्री सिस्टर्स फाउण्डेसन, सिन्धुपाल्चोक च्यम्बर अफ कमर्श, लिगलजुम रिसर्ज सेन्टर, जानकी टेलिभिजन र कान्तिपुर सिसडोल वातावरण सेवा प्रालिको सहयोगमा सिरक वितरण गरिएको हो ।

स्थानीय विपन्न परिवारलाई मिरा सापकोटा जोशी, निक्की कार्की मानन्धर, सिन्धुपाल्चोक च्याम्बर अफ कमर्शका अध्यक्ष दिनेश श्रेष्ठ, अधिवक्ता रामहरि नेपाल, वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, युवा अभियान्ता वर्षा जोशी र पत्रकार एवम् अभियान्ता उद्धककुमार कार्कीले सिरक वितरण गरेका थिए ।

सामाजिक कार्यमा सक्रिय युवा अभियान्ता जोशीले आफूहरुले विपन्न तथा पीडित परिवारलाई विभिन्न संघसंस्थासँगको सहकार्यमा सहयोग गर्दै आएकाले सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *