कारागारमा कैदीबन्दीको कोचाकोच, नयाँ भवन निर्माण सुस्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते १८:१२
कारागारमा कैदीबन्दीको कोचाकोच, नयाँ भवन निर्माण सुस्त (भिडियोसहित)

४ माघ २०७७ बाँके । बाँकेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी छन । ठाउँ अभाव हुँदा कैदीबन्दीले राम्रोसँग सुत्न समेत पाएका छैनन । कोचिएर बस्नुपर्ने र पालो पर्खेर सुत्नुपर्ने बाध्यता छ ।

कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको नौबस्तामा १५ सय क्षमताको क्षेत्रीय कारागार भवन निर्माण थालेको छ । तर १५ महिनाअघि नै पूरा हुनुपर्ने कारागार भवन निर्माणको काम अझै पूरा भएको छैन ।

बाँके प्रहरीले अदातलबाट कैद सजाय पाए पनि लामो समयदेखि फरार रहेका अपराधीहरुलाई पक्राउ गर्ने अभियान शुरु गरेपछि कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापनमा सकस परेको छ । कारागारमा ठाउँ अभाव भएपछि २०७७ साउनको अन्तिम हप्ता ४७ जना महिला कैदीबन्दीलाई बाँकेबाट बर्दिया र दैलेखमा सारिएको थियो । तर प्रहरी अभियानले फरार अभियुक्त पक्राउ परिरहेकाले ठाउँको अभाव बढ्दो छ ।

२०७३ असारमा रसुवा पप्पु जेभीले १५ सय क्षमताको कैदीबन्दीलाई राख्ने २५ वटा भवनसहितको कारागार निर्माण २०७६ कात्तिकमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । साढे ३८ करोड लागतमा निर्माण गर्नुपर्ने क्षेत्रीय कारागार भवनको निर्माण सम्पन्न हुनुपर्ने समय सकिएको १५ महिना बितिसके पनि निर्माण कार्य अधुरै छ । कैदीबन्दीलाई राख्ने ठाउँ नभएर प्रहरीलाई हैरान छ ।

कारागार भवन निर्माणको ठेक्का रसुवा पप्पु जेभीले लिएको भए पनि काम पप्पु कष्ट्रक्शनले शुरु गरेको थियो । निर्माण कार्य शुरु भएको साढे २ वर्षसम्म ५ प्रतिशत मात्रै काम गरेपछि भवन विभागले रसुवा पप्पु जेभीको ठेक्का तोडेर कालो सूचीमा राख्ने चेतावनी दियो । त्यसपछि पप्पु कष्ट्रक्शनले गर्दै आएको काम २०७६ भदौदेखि रसुवा कष्ट्रक्शनले गर्दै आएको छ । रसुवा कष्ट्रक्शनले काम शुरु गरेसँगै कारागार निर्माणको कामले केही गति लिए पनि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण निर्माणको काम कछुवा गतिमा अघि बढेको छ ।

करिब १० बिघा क्षेत्रफलमा पहिलो चरणमा १५ सय र दोस्रो चरणमा १५ सय क्षमता गरेर ३ हजार क्षमताको कारागार भवन बनाउने लक्ष्य राखिएको छ । तर निर्माण कार्य कहिले पुरा हुने हो अझै एकीन भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *