आगलागीबाट खरानी बनेको गाउँले यसरी फेर्‍यो मुहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १८:४८
आगलागीबाट खरानी बनेको गाउँले यसरी फेर्‍यो मुहार (भिडियोसहित)

३ माघ २०७७ गुल्मी । २०७३ साल वैशाख १८ गतेको आगलागीले ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउँको पुनर्निर्माण भएको छ । जंगलबाट शुरु भएको आगो एक्कासी बस्तीमा पस्दा ५७ घरगोठ पूर्णरुपमा र १७ घर आशिंक जलेका थिए । एक जनाको मृत्यु भएको थियो । अहिले देशविदेशबाट आएको सहयोगले गाउँको मुहार नै फेरिएको छ ।

अरुले खाएको पलाउँदैन तर आगोले खाएको पलाउँछ भन्ने पुरानो उखानको पुष्टि हो– गुल्मीको मुसिकोट नगरपालिकाको दजाकोट । अगालागीबाट गाउँ नै ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउँ पुनर्निर्माण भएको छ । आगलागीपछि उजाड बनेको गाउँ दजाकोट अहिले पुनर्निर्माण भएसँगै चिटिक्क परेको छ । आगोले सखाप पारेका घर निर्माण भइसकेका छन् । खानेपानी पुगिसकेको छ अरु विकास निर्माणको काम चलिरहेको छ । देश तथा विदेशबाट प्राप्त भएको सहयोगले चार वर्षमा दजाकोटको रुप नै फेरिएको छ ।

पहिलेदेखिनै दजाकोटमा खानेपानीको संकट भएकाले आगलागीपछि केही परिवार विस्थापित हुने अवस्थामा पुगे । दाजकोटमा पहिले अस्थायी मूलबाट ६ महिना मात्रै पानी पुग्थ्यो । दजाकोटका बासिन्दालाई हिउँदभर पानीका लागि खोल्सा र पँधेरा पुग्नुपर्ने बाध्यता थियो । तर अहिले भग्लामगैरा–दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत एक सय १८ घरमा एक घर एक धारा सञ्चालन भएका छन् । अहिले घर घरमै खाने पानी आएपछि बालबालिकाहरुले पढ्ने समय पाएका छन् ।

पूर्ण क्षति भएका ४२ र आशिंक क्षति भएका ९ घर भुकम्प प्रतिरोधी तरिकाले बनाइएको छ । गाउँको पुनर्निर्माण, खानेपानी र अन्य पूर्वाधार निर्माण भएकाले बसाइ सर्ने मनस्थितिमा पुगेकाहरु पनि रोकिएका छन् ।

गाउँमा आगलागीको सम्झानामा अग्नी स्मृति स्मारक र अकलादेवीको मन्दिर निर्माण गर्ने योजना छ । दृढ इच्छाशक्ति भए कामले पूर्णता पाउछ भन्ने उदाहरण बडागाउँमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *