राजनीति

यस्ता रहेछन् ओलीले संसद विघटन गर्नुका ८ कारण (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते १९:२५
यस्ता रहेछन् ओलीले संसद विघटन गर्नुका ८ कारण (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको सरकार चाहिएकाले चुनावमा जानु परेको जिकीर गर्नुभएको छ । जहाँ विभिन्न आठ कारण अगाडि सारिएको छ ।

दुई तिहाईको सरकार किन चाहियो ?

कारण १– संविधान संशोधन
ओली सरकारले संसद विघटनको सिफारिस गर्दा संविधान संशोधनको आवश्यकता औंल्याएको छ । कतिपय प्रावधान संशोधनयोग्य रहेको उसको तर्क छ । त्यसका लागि दुई तिहाइ वा बहुमतको सरकार आवश्यक भएको सरकारको जिकीर छ । संविधानको कुन प्रावधान संशोधन गर्न खोजिएको हो भने त्यो प्रष्ट छैन । तर जनता समावादी पार्टीलगायतका दलले संविधान संशोधनको प्रस्ताव राखेको तर्फ संकेत गर्दै भनिएको छ–‘संशोधनका लागि विभिन्न राजनीतिक दलहरू समेतबाट पटकपटक प्रस्तावहरू राखिएकै छन्। ’

कारण २ः भारतले मिचेको भूमि फिर्ता ल्याउन
भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन पनि दुई तिहाईको सरकार चाहिएको प्रधानमन्त्री ओलीको तर्क छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेतको भू–भागलाई यस सरकारले नेपालको नक्सामा समेटी नक्सा प्रकाशन गरेको र त्यसलाई व्यवहारमै कार्यान्वयन गर्न समेत दुई तिहाईको सरकार चाहिएको सिफारिसमा उल्लेख छ ।

सरकारको सिफारिसमा भनिएको छ– ‘सरकारको दृढ अठोट र अविचलित प्रयासबाट विगतमा असम्भवजस्तो ठानिएको आफ्नो भूमि प्राप्त गर्ने यो सर्वाधिक राष्ट्रिय महत्त्वको विषयमा अभूतपूर्व राष्ट्रिय एकता निर्माण गर्न सफलता मिलेको हो। संघीय संसदबाट पारित भएको यस विषयलाई कार्यान्वयन गर्नसमेत दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको ।’

कारण ३ः सन्धि सम्झौता अनुमोदनका लागि
संविधानको धारा २ सय ७९ बमोजिम सन्धि वा सम्झौता अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनका लागि दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको सरकारको तर्क छ । तर अहिले त्यस्तो के काम गर्नु परेको हो त्यो प्रष्ट छैन ।

कारण ४ः सरकारलाई अवरोध सिर्जना भएकाले
ओली सरकारको तर्क छ– राष्ट्रहित र जनहितको कार्य गर्न अवरोध सिर्जना भयो । त्यसैले राष्ट्रहित र जनहितको कार्यलाई निर्वाध ढङ्गले तीव्र गतिमा अगाडि बढाउन ताजा जनादेशसहित दुई तिहाइ बहुमतको सरकार आवश्यक चाहियो ।

कारण ५ ः संसदले अवरोध गरेकाले
आफ्नो काममा संसदले अवरोध गरेको सरकारको आरोप छ । एमसीसी अगाडि नबढाइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सभामुखको आलोचना गर्दै आउनुभएको छ । र, सर्वोच्च अदालतमा पेश गरेको जवाफमा पनि संसदले सहयोग नगरेको उल्लेख छ । यही असहयोगलाई चुनावमा जानु पर्नाको कारणका रुपमा सरकारले पेश गरेको छ । सरकारले अनुमोदनका लागि संसदसमक्ष प्रस्तुत गरेको दस्तावेज सरकारको पटकपटकको अनुरोधका बावजुद संसदको बैठकको कार्यसूचीमै नराखे र निर्णयार्थ प्रस्तुत नगर्नेसम्मको स्थिति प्रकट हुनुबाट अन्तर्राष्ट्रिय रूपमा मुलुकको साखमा प्रतिकूल असर पर्न गएको सरकारको आरोप छ ।

कारण ६ः कोभिडविरुद्ध लड्न पनि चाहियो दुई तिहाई
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा अभूतपूर्व एकताका साथ सिंगै देश जुट्नुपर्ने विशेष समयमा जनतामा विभिन्न प्रकारका भ्रम फिँजाउन खोज्ने, अनावश्यक विषयमा अल्झाउन खोज्ने, विकास निर्माणका कार्यहरूमा समर्पित भई केन्द्रित हुन नदिने भइरहेकाले बृहत्तर राष्ट्रिय हितमा समर्पित रही राष्ट्रिय समस्या समाधान गर्न केन्द्रित हुन दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको सरकारको तर्क छ ।

कारण ७ः राष्ट्रहित तथा स्वाभिमानलाई यथावत राख्न
ओली सरकारको दावी छ– वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको साख व्यापक अभिवृद्धि गरेको छ । तर अहिले त्यसलाई संकुचित गर्ने प्रयास भैरहेको छ । त्यसैले राष्ट्रहित तथा स्वाभिमानलाई उच्च पारेको अवस्था यथावत् कायम राख्न तथा यसलाई संकुचित एवं अर्थहीन बनाउन भइरहेका प्रयासहरूलाई परास्त गर्न दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको उसको जिकिर छ ।

कारण ८ः शान्ति प्रक्रिया सफल पार्न
शान्ति प्रक्रियालाई स्वच्छ र सर्वस्वीकार्य तवरबाट सफल पार्न दुई तिहाइ बहुमतको सरकार आवश्यक भएकाले चुनावमा जानु परेको ओली सरकारको दावी छ । सशस्त्र संघर्षका कारण जनतामा भएको निराशा तथा सशस्त्र संघर्षका बखत भएका काम न्यायोचित र सहज तरिकाबाट निरूपण गर्न र शान्ति प्रक्रियालाई स्वच्छ र सर्वस्वीकार्य तवरबाट सफल पार्न दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको ओली सरकारको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्