आर्थिक

६ महिनामा सरकारको खाता: आम्दानीभन्दा खर्च २३ अर्ब बढी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २९ गते २०:४०
६ महिनामा सरकारको खाता: आम्दानीभन्दा खर्च २३ अर्ब बढी (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुरा भएको छ । तर आर्थिक वर्षको आधा समय बितिसक्दा समेत न त लक्ष्य अनुरुप राजस्व उठेको छ न त अनुदान नै प्राप्त भएको छ ।

६ महिनामा सरकारले गरेको सम्पूर्ण आम्दानीभन्दा २३ अर्ब रुपैयाँ बढी खर्च गरिसकेको छ । तर त्यसका बावजुद विकास खर्चको अवस्था भने निराशाजनक छ । स्रोतको अभावका कारण सरकारले कोरोना खोपको रकम जुटाउन दाता गुहार्नु परेको छ ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर आर्थिक वर्षको आधा अवधि सकिँदा ३८ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

महालेखा नियन्त्रका कार्यालयका अनुसार पुस मसान्तको अघिल्लो दिनसम्ममा ३ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठेको हो । राजस्व संकलन अपेक्षित नभइरहँदा अनुदान समेत वार्षिक लक्ष्यको ८ प्रतिशत मात्र प्राप्त भएको छ ।

हालसम्म ५ अर्ब रुपैयाँ अनुदान प्राप्त भएको छ जबकि यो आर्थिक वर्ष साढे ६० अर्ब रुपैयाँ अनुदानको लक्ष्य छ । चालु आर्थिक वर्षको आधा अवधिमा अब सरकारले ७२ प्रतिशत राजस्व र ९२ प्रतिशत अनुदान संकलन गर्नुपर्नेछ । अनुदान पाइहाले पनि अब ६ महिनामा ७२ प्रतिशत राजस्व संकलन गर्न चूनौतिपूर्ण छ । त्यसैले सरकारले बजेटको अर्धवार्षिक समिक्षामार्फत राजस्व संकलनको लक्ष्य घटाउने सम्भावना छ ।

लक्ष्यअनुरुप राजस्व गर्न नसकेको सरकारले खर्च भने आम्दानीभन्दा बढी गर्न भ्याएको छ । महालेखाका अनुसार पुस मसान्तको अघिल्लो दिनसम्ममा सरकारले ४ खर्ब ११ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो खर्च सरकारको आम्दानीभन्दा २३ अर्ब रुपैयाँ अधिक हो । ३ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्चमै सकिएको छ भने २२ अर्ब वित्तीय खर्च भएको छ ।

वार्षिक लक्ष्य
राजस्व संकलन : १० खर्ब ११ अर्ब रुपैयाँ
अनुदान प्राप्ति : ६० अर्ब ५२ करोड रुपैयाँ
चालु खर्च : ९ खर्ब ४८ अर्ब रुपैयाँ
विकास खर्च : ३ खर्ब ५२ अर्ब रुपैयाँ
वित्तीय खर्च : १ खर्ब ७२ अर्ब रुपैयाँ

६ महिनाको अवस्था
राजस्व संकलन : ३ खर्ब ८८ अर्ब रुपैयाँ
अनुदान प्राप्ति : ५ अर्ब रुपैयाँ
चालु खर्च : ३ खर्ब ४० अर्ब रुपैयाँ
विकास खर्च : ४९ अर्ब रुपैयाँ
वित्तीय खर्च : २२ अर्ब रुपैयाँ

प्रतिशतमा ६ महिनाको अवस्था
राजस्व संकलन : ३८ प्रतिशत
अनुदान प्राप्ति : ८ प्रतिशत
चालु खर्च : ३५ प्रतिशत
विकास खर्च : १४ प्रतिशत
वित्तीय खर्च : १२ प्रतिशत

आधा वर्षमा अधिक चालु खर्च भइसक्दा समेत विकास खर्चको अवस्था भने निराशाजनक छ । पुस मसान्तको अघिल्लो दिनसम्ममा वार्षिक लक्ष्यको १४ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । यो वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ४९ अर्ब रुपैयाँ मात्र खर्च भएको हो । विकास खर्चको यो अवस्था पोहोरको भन्दा कमजोर हो । पोहोर यो अवधिसम्ममा १५ प्रतिशत विकास बजेट खर्च भइसकेको थियो ।

यो वर्ष सरकारले विकास खर्चमा सुधार ल्याउन विभिन्न उपाय गरे पनि त्यसको प्रभाव नदेखिएको हो । सरकरले बजेटमा परेका सबै विकास निर्माणका काम कात्तिक १५ भित्रै सुरु भइसक्ने गरी सुधारको व्यवस्था गरेको थियो ।

यसबाट विकास खर्चमा सुधार आउने सरकारको अपेक्षा थियो । तर त्यसका विपरित विकास खर्चको अवस्था विगतका‍े भन्दा खस्किएको छ । कुल आम्दानीभन्दा खर्च अधिक भएपछि हिसाब मिलान गर्न सरकारले विभिन्न कोषमा मौज्दात रकम प्रयोग गरेर खर्च धानेको छ । हिसाब(किताब मिलान गर्न सरकारले २७ अर्ब ५३ करोड रुपैयाँ कोष तथा मौज्दातबाट तानेको छ ।

खर्च बढ्दै गएको र राजस्वको नउठेर लक्ष्य नै घटाउनुपर्ने अवस्था आएपछि सरकारले कोरोना खोपका लागि आवश्यक रकम जुटाउन दाता नै गुहार्नुपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाता नम्बर नै दिएर दातृ निकाय, विभिन्‍न व्यावसायिक तथा संस्थालाई योगदान गर्न आह्वान गरेको छ । यसबाहेक वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि थप रकम समेत कसरी जुटाउन समेत सरकारलाई ग्राहो पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *