२४ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको हो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेको हो ।
आयोगले दोस्रो पटक राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दुवै पक्षलाई पत्र पठाए पनि दुवै पक्षले आयोगले भनेअनुसार नभई दफा ५१ अनुसार पार्टी विधान संशोधन र पदाधिकारी हेरफेरको मात्र जानकारी गराएको आयोगले जनाएको छ।
दफा ४४ अनुसार दाबी नपर्दा आयोग अलमलमा छ। आयोगले ऐनको दफा ४४ को उपदफा १ लाई खुलाएर दलको नाम, झन्डा वा चिह्नसम्बन्धी विवादमा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधार र प्रमाणसहित पेस गर्न गत आइतबार नेकपाका दुवै पक्षलाई पत्राचार गरेको थियो।
त्यसको जवाफमा दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गरेपछि आयोगले फेरि अर्को पत्र पठाउने निर्णय गरेको हो ।