२२ पुस २०७७ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लीग, पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् ।
सार्वजनिक ड्राफ्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कूल तीन सय खेलाडी समावेश छन् भने जनवरी ९ तारिखमा लिलामी हुनेछ ।
सन्दीप यसपटक सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा परेका छन् । यस श्रेणीमा क्रिस गेल, ड्वेन ब्राभो, लेन्डल सिमोन्स, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान, मोम्मद नाभी तथा डेन स्टन लगायतका २५ जना खेलाडी छन् ।
पीएसएलमा प्लाटिनम, डाइमण्ड, गोल्ड, सिल्भर र इमरजीङ प्लेयर गरी कूल ५ श्रेणी समावेश छन् । पीएसएलमा क्वेटा ग्ल्याडियटर्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, इस्लामबाद युनाइटेड, पेशावर जाल्मी र कराँची किंग्स गरी ६ फ्रेन्चाइज टोली छन् ।
प्लाटिनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीलाई १ लाख १७ हजारदेखि २ लाख १८ हजार अमेरिकी डलरसम्म खरिद गर्न सक्ने छन् । यस्तै डाइमण्ड श्रेणीका खेलाडीको मूल्य ७३ हजारदेखि १ लाख ३ हजार अमेरिकी डलर रहने छ ।
सन् २ हजार १८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । त्यतिबेला सन्दीप गोल्ड श्रेणी अन्तर्गत लाहोरमा आबद्ध भएका थिए ।