आर्थिक

शेयर बजारमा नयाँ रेकर्ड कायम

हिमालय टिभी
२०७७ पुष १९ गते १५:५९
शेयर बजारमा नयाँ रेकर्ड कायम

१९ पुस २०७७ काठमाडौं । आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ ।

नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिले सम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात १७ दशमलव १८ अंकले बढेर ४ सय १५ दशमलव ८८ अंकमा बन्द भएको छ ।

दिनभर २ सय १२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदविक्री भएको छ ।

सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका शेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात ५ दशमलव ८२ अंकले बढेर १ सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ । यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात ५ दशमलव ०७ अंकले बढेर १ सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।

बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा शेयरको माग बढेको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । बैंक ब्याजदर पनि सस्तो भएको छ । बजार निरन्तर बढ्दै जाने र शेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ ।

यस्तै कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश शेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन शेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ ।

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ८६ प्रतिशत, बैंकिङ समूह ४ दशमलव ४७ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ०९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ८४ प्रतिशत, जलविद्युत समूह २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूह २ दशमलव ३६ प्रतिशत, विकास बैंक समूह २ दशमलव १६ प्रतिशत, होटल समूह १ दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शुन्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव २१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दुरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ ह्जार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीका शेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै ९ प्रतिशत भन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सिय बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *