Main News

कुलमान हटेपछि अघोषित लोडसेडिङ मात्र होइन, यसरी विद्युत चोरी पनि बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते ६:२२
कुलमान हटेपछि अघोषित लोडसेडिङ मात्र होइन, यसरी विद्युत चोरी पनि बढ्यो (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र नयाँ व्यवस्थापन आएसँगै विद्युत चुहावट बढेको छ । विद्युत व्यवस्थापन गर्न नसकेर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणको व्यवस्थापन चुहावट नियन्त्रणमा समेत असफल देखिएको हो ।

आर्थिक वर्ष २०७२–०७३ मा आन्तरिक उत्पादन ६ सय मेगावाट र भारतबाट आयात गरिएको ३ सय मेगावाट गरी ९ सय मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । तर यसरी जोडिएको मध्ये एकचौथाई बिजुली चोरी हुने तथा प्राविधिक रुपमा खेर जाने स्थिति थियो । त्यसबेला कुल विद्युतको २५ दशमलव ७ प्रतिशत विद्युत चहावट हुने गरेको थियो ।

ठूलो परिमाणमा विद्युत आयात र चुहावट हुने त्यसबेला प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा थियो । चरम विकृतिका माझ २०७३ भदौमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुभयो ।

घिसिङ्ग कार्यकारी निर्देशक भएपछि प्राधिकरणले अनुगमनलाई तिब्रता दियो जसले विद्युत चोरी घटायो । यस्तै प्राविधिक चुहावटलाई समेत व्यवस्थापन गरी कम गर्दे लगियो । घिसिङले कुशल व्यवस्थापनले गर्दा तीन वर्षमै विद्युत चुहावट करिब साढे १० प्रतिशतले घट्यो ।

आर्थिक वर्ष २०७६–७७ मा चुहावट १५ प्रतिशतमा सीमित भयो । विद्युत चुहावट घट्दै गएपछि गत वर्ष प्राधिकरण ५ अर्ब रुपैयाँ खुद नाफामा पुगेको थियो । घिसिङकै नेतृत्वको प्राधिकरणले चालु आर्थिक वर्षमा चुहावटलाई साढे १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । तर गत भदौमा घिसिङ प्राधिकरणबाट बाहिरिएसँगै नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेको छ ।

नयाँ व्यवस्थापनले घिसिङले बनाएको टिमको जिम्मेवारी समेत हेरफेर गरेको छ । नयाँ टिमको व्यवस्थापकिय क्षमता नपुग्दा अहिले अघोषित लोडसेडिङ त भएकै छ चुहावट समेत बढेको पाइएको छ ।

प्राधिकरण पछिल्लो तथ्यांकले ‍कात्तिकसम्म चुहावट बढेर १६ दशलमलव ६ प्रतिशत नाघेको देखाएको हो । घिसिङको कार्यकाल सकिएयता चुहावट १ दशमलव ६ प्रतिशतले बढेको हो ।

कात्तिकपछि प्राधिकरणले चुहावट मापन गरेको छैन् । यदि कात्तिकयताको मापन गर्ने हो भने चुहावट अझ बढ्ने सम्भावना रहेको उर्जा क्षेत्रका जानकारहरु बताउँछन् । प्राधिकरणले कोरोना महामारीका कारण अनुगमन गर्न नपाएकाले चुहावट बढेको बताएको छ । तर अहिले केहि बढे पनि अनुगमनलाई तिब्रता दिएर चुहावटलाई १५ प्रतिशतमा कायम राखिने उसको दाबी छ ।

यद्यपि यो वर्ष चुहावटलाई साढे १४ प्रतिशतमा झार्ने लक्ष्य पुरा नुहने प्राधिकरणले स्वीकार गरेको छ । विद्युत चुहावट बढ्नु भनेको प्राधिकरणको आम्दानी खेर जानु हो ।

अहिले पिक आवरमा १४ सय ३० मेगावाट विजुली माग छ । र भारतबाट ६ सय मेगावाट बिजुली आयात गरेर प्राधिकरणले माग धानिरहेको छ । जसमध्येको २२ मेगावाट विजुली भने चुहावट हुने गरेकोछ । यसले प्राधिकरणको वार्षिक आम्दानी घटाउन र लोडसेडिङ गराउन मद्दत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *