लागु औषधको कुलतमा बाँकेका युवा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते ६:१३
लागु औषधको कुलतमा बाँकेका युवा (भिडियोसहित)

१९ पुस २०७७ बाँके । बाँकेमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवा पनि लागु औषधको कुलतमा फसिरहेका छन् । कैंयौंको जीवन बर्बाद भएको छ ।

पछिल्ला दिनमा बाँके प्रहरीको हिरासत र बाँकेको कारागार लागु औषध प्रयोगकर्ताले भरिन थालेको छ । प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत लागु औषधको प्रयोग र बेचविखनसँग सम्बन्धित छन् । पछिल्ला दिनमा हुने चोरी, लुटपाट र झै भगडामा संलग्न ब्यक्ति मध्ये करिब ६० प्रतिशत लागुऔषध प्रयोगकर्ता छन् ।

अभिभावकबाट राम्रो हेरचाह नपाएका बेरोजगार युवा लागु औषध तस्करीमा संलग्न हुने गरेको पाइएको छ । भारतसँगको खुला सिमानाका कारण सिमावर्ति क्षेत्रमा ब्राउन सुगर ,अफिम र चरेश जस्ता लागु औषधको तस्करी फस्टाउँदै गएको छ ।

अभिभावकले आफ्ना छोराछोरीले के गर्दैछन् र उनीहरुको संगत कोसँग छ भन्ने कुरामा ध्यान नदिँदा धेरै किशोरकिशोरी लागु औषधको कुलतमा फस्ने गरेका छन । लागु औषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न बाँके प्रहरीले महाअभियान अभियान चलाइरहेको छ ।

प्रहरीले अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका अगुवासँग सहकार्य गरेर जिल्लाका ८१ वटै वडामा सचेतना अभियान तिब्र पारेको छ। अभियानमा स्थानीय जनप्रतिनिधिले पनि साथ दिएका छन् ।

लागु औषध प्रयोग गर्नेमध्ये १६ देखि ४० वर्ष उमेर समूहका युवा बढी छन् । पछिल्ला दिनमा नेपालगन्ज हुँदै अफिम र चरेश भारततर्फ जाने र भारतबाट ब्राउन सुगर नेपाल भित्रने गरेको छ । लागु औषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिरहेको प्रहरीको दाबी छ ।

२०७७ साउनदेखि अहिलेसम्म लागु औषध अवैध कारोबार र सेवनमा संलग्न भएको अभियोगमा बाँके प्रहरीले ९६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यो अवधिमा २ सय ५३ ग्राम व्राउन सुगर, साढे ३४ किलो अफिम, ५३ किलो गाजा, साढे ३ किलो चरेश, २० लिटर कोरेक्स, ५ सय १ ट्याबलेट नाइट्राजेपाम लगायतका लागु औषध बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *