Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै

हिमालय टिभी
२०७७ पुष १८ गते ९:१५
नेकपा प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै

१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्न लागेको हो ।

अबको कार्यक्रममा वडादेखि(गाउँपालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी कार्यक्रम ल्याउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको छ ।

प्रधानमन्त्री ओलीको कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको प्रचण्ड–नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतबाट बदर भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर संयुक्त सरकार चलाउने तथा विघटन सदर भए तालमेल गरेर चुनावमा जान ओली–देउवा सहमत भएको सार्वजनिक भएपछि प्रचण्ड–नेपाल समूह संयुक्त आन्दोलनको विकल्प खोज्ने निष्कर्षमा पुगेको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारूढ नेकपा अनौपचारिक रूपमा अलग भएका छन्।

ओली समूह आफ्नो असंवैधानिक कदमको प्रतिरक्षामा लागेको छ भने प्रचण्डनेपाल पक्ष त्यो कदम सच्याएरै छाड्ने अडानका साथ आन्दोलनरत छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्