Main News

निर्वाचन आयोगले लेख्यो नेकपाको दुवै समूहलाई नेतृत्व परिवर्तनबारे जानकारी माग्दै पत्र

हिमालय टिभी
२०७७ पुष १८ गते ७:४०

१८ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको नेतृत्व परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ।

आयोगले आधिकारिकता पुष्टिका लागि हिजो दुवै समूहलाई पत्र पठाएको हो । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

कुनै पनि दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नुपर्ने भए त्यस विषयमा जानकारी गराउनुपर्ने हुन्छ। त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ।

प्रचण्ड–नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएका छन्।

अर्कोतर्फ अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समितिको संख्या ११ सय ९९ पुर्‍याएको निर्णय गर्दै थप ५ सय ४६ जनालाई मनोनय गर्नुभएको छ ।

निर्वाचन आयोगमा ४ सय ४७ सदस्यीय केन्द्रीय सदस्यहरुको नाम रहेको छ। सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्ष र प्रचण्ड–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *