Main News

सन् २०२० कस्तो रह्यो ? नयाँ वर्षमा अन्त्य होला कोरोना ? भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते ६:५७
सन् २०२० कस्तो रह्यो ? नयाँ वर्षमा अन्त्य होला कोरोना ? भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । सन् २०२० कस्तो रह्यो भन्ने प्रश्न आउँदा विश्वका धेरै नागरिकको मुखमा आउने पहिलो शव्द हो कोरोना । यो वर्ष कोरोना महामारीले विश्वलाई नै परिवर्तन गरिदिएको छ । वर्षको अन्त्यतिर खोप आएकाले सन २०२१ मा कोरोना महामारी सकिने विश्वास गरिएको छ ।

सन् २०१९ डिसेम्बर महिनाबाट चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसका कारण सन् २०२० तनावमा नै बित्यो । कोरोना महामारीका कारण एक वर्षमा १८ लाख भन्दा बढिले ज्यान गुमाए । र नागरिकको मृत्यु हुने क्रम जारी नै छ ।

कोरोना संक्रमण फैलिन नदिन, हवाई उडान बन्ददेखि लकडाउन गरियो । तर त्यसले कोरोना भइरसलाई एक देशबाट अर्को देशमा जान रोकेन । यो भाइरस अहिले विश्वभर नै फैलिएको छ ।

कोरोनाकै कारण विश्वभरको अर्थतन्त्र डावाडोल भयो । अन्तराष्ट्रिय श्रम संगठनले यो एक वर्षको अवधीमा सातदेखि १० करोड मानिस चरम गरिवीमा धकेलिएको जनाएको छ । लकडाउनका कारण पर्यटन, खेलकुद, मनोरञ्जन, शैक्षिक क्षेत्र पनि तहस नहस भए । कोरोनाका कारण आफन्त र रोजगारी गुम्दा व्यक्तिको मानसिक स्वास्थ्यमा समेत गम्भिर असर परेको छ ।

एक वर्षको अवधी गुज्रिरहदाँ कोरोनाको असर कम भएको छैन बरु झन बढिरहेको छ । वर्षको अन्त्यमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या उच्च छ ।

एकैदिन करिव १५ हजार मानिसको मृत्यु भएको छ । हरेक दिन झण्डै ७ लाखको हाराहारीमा संक्रमित थपिइरहेका छन् । पछिल्लो पटक म्युटेसन भएको भाइरस झन संक्रामक देखिएको छ । यसले अमेरिका र युरोपेली देशामा वितण्डा मच्चाइरहेको छ ।

तर वर्षको अन्तिमतिर आउँदा केही आशाको संचार पनि भएको छ । त्यो हो कोरोनाविरुद्धको खोप । विभिन्न कम्पनीले बनाएका खोप अहिले लगाउन शुरु गरिएको छ । यसले केहि सन्तोष दिएको छ ।

यद्यपि अझै पनि अर्वौं मानिस खोपको पहुँच बाहिर छन् । यसअघि सन् १९१८ देखि १९२० को बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लुएन्जाको भयानक महामारी विश्वभर फैलिएको थियो । त्यसबाट विश्वको एकतिहाइ जनसंख्या प्रभावित भएको थियो । ५ करोड भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ ।

स्पेनिस फ्लुपछि कोरोना महामारीले विश्वलाई नै तहस नहस बनाएको छ । यो वर्ष कोरोना महामारी परास्त हुन सकेन । तर खोप आइसकेकाले विश्व पहिले कै अवस्थामा फर्कने विश्वासका साथ सन् २०२१ लाई स्वागत गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *