Main News

यो वर्षको एसईई परीक्षा जेठमा हुने, तयारी शुरु

हिमालय टिभी
२०७७ पुष १६ गते ७:३५
यो वर्षको एसईई परीक्षा जेठमा हुने, तयारी शुरु

१६ पुस २०७७ काठमाडौं। यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुरु गरेको जनाएको छ ।

बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिनुुभयो ।

चैत–वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार–साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उहाँले बताउनुुभयो । तर सरकारले यस पटक शैक्षिक सत्र कहिले शुरु हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन ।

विगतमा वैशाखमा शैक्षिक सत्र शुरु भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरसका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्रसमेत यकिन हुन सकेको छैन ।

वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ । हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ ।

शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताउनुुभयो । माघ तेस्रो सातासम्म परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्ने समय दिइएको छ ।

यसबाट एसईई दिनेको वास्तविक तथ्याङ्क यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने बोर्डको भनाइ छ । एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्याङ्क उपलब्ध गराउनुपर्नेछ ।

बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको पनि स्पष्ट निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *