समाज

सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

हिमालय टिभी
२०७७ पुष १६ गते ६:४८
सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

१६ पुस २०७७ इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो ।

जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने÷नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउनुहुन्छ । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पथ्र्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई “जीवनले काँचुली” फेरिएझैँ भएको छ ।

एक वर्षअघि रु दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम शुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए ।

पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउनुहुन्छ । आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति हुनुहुन्छ । उहाँ यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै हुनुहुन्थ्यो तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ । यहाँ अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए ।

झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी सङ्कलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन ।

नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउनुहुन्छ । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन् ।

वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा÷एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन् । बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार मेधश नजिक बेँसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *