Main News

ओलीले जनतालाई सुख कम दुःख बढी दिएः अध्यक्ष नेपाल

हिमालय टिभी
२०७७ पुष १४ गते १८:२३
ओलीले जनतालाई सुख कम दुःख बढी दिएः अध्यक्ष नेपाल

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ ।

नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुख कम र दुख बढी दिएको टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नभएको भन्दै उहाँले अर्काको खिस्सीट्युरी गर्ने, सल्लाह तथा सामूहिकतामा विश्वास नगर्ने निरंकुश चरित्र रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम आफुहरुलाई स्वीकार नभएको अध्यक्ष नेपालको भनाइ छ । यो कदम राजनीतिक, जनभावनाको हिसाबले, नेकपा पार्टीको निर्णयको हिसाबले कुनै पनि रुपमा अनुपयुक्त रहेको उहाँको तर्क छ ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णयसमेत नमानेका कारण पार्टी अध्यक्षबाट हटाएको तर सुध्रिनु हुन्छ कि भनि हालसम्म पार्टी सदस्यबाट भने कारबाही नगरिएको अध्यक्ष नेपालले बताउनुभयो ।

केपी प्रवृत्तिको नास गराउनुपर्ने बेला आएको भन्दै यसका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सरकार कामचलाउ हुने भएपनि सरकारले हालसम्म कामचलाउ भएको घोषणा नगरेको उहाँको भनाइ छ । ओली पक्षले विभिन्न लोभ, लालचमा मानिसहरु तान्ने प्रयास गरेको भए पनि बालुवाटारको गुटको भेला भएको र आफुहरु आधिकारीक रहेको बताउनुभयो ।

उहाँले इतिहासको पांग्रा पछाडी धकेल्न खोजिएको भन्दै नेपालको इतिहास पछाडी जान नसक्ने बताउनुभयो । प्रतिनिधि सभाको पुनर्बहाली गराउन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *