खेलकूद

एउटा यस्तो गाउँ जसले जन्माएको छ एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १७:४२
एउटा यस्तो गाउँ जसले जन्माएको छ एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी (भिडियोसहित)

१४ पुस २०७७ बाँके । बाँकेमा एउटा यस्तो गाउँ छ । जहाँ एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी छन् । गाउँको ९० प्रतिशतभन्दा बढी घरमा कम्तिमा एक जना खेलाडी छन् ।

नेपालगन्जको धम्बोझी चोकसँगै जोडिएको छ, घरबारी टोल । यहाँ करिब डेढ सय घर परिवारको बसोबास छ । र, ९० प्रतिशतभन्दा बढी घरमा कम्तिमा एक जना राष्ट्रिय खेलाडी छन् । जिल्ला, अञ्चल र क्षेत्रीय प्रतियोगिता खेल्ने खेलाडीको त गन्ती नै छैन ।

घरबारी टोलमा जन्मेका र हुर्केकाले सुटिङ, भारोत्तोलन, क्रिकेट, टेनिस, हक्की, फुटबल, भलिबल, टेबल टेनिस, कबड्डी लगायतका खेलमा उत्कृष्ट प्रदर्शन गरेर देश कै गौरव बढाएका छन ।

घरबारी टोलकै भारत्तोलन खेलाडी सुरेन्द्र हमाल सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा भएको ओलम्पिकमा सहभागी भए  ।
सन् १९८३ मा मस्कोमा वर्ल्ड एन्ड युरोपियन च्याम्पियनसिपमा सहभागी भएका सुरेन्द्रले काठमाडौमा भएको पहिलो दक्षिण एसियाली च्याम्पियनसिपमा तीनटा कांस्य पदक पनि जिते ।

बंगलादेशमा भएको दोस्रो साफमा दुई रजत र एक कास्य पदक जितेका हमालले पाकिस्तानमा भएको चौथो र श्रीलंकामा भएको पाचौं साफमा रजत पदक जिते ।

ओलम्पियन एवं प्रदेश ५ का सांसद सुरेन्द्र हमालको घरमा मात्र तीन जना राष्ट्रिय खेलाडी छन् । उनका छिमेकी नरेन्द्र थापा र बदरुद्दिन अन्सारीको परिवारका अधिकांश सदस्य सुटिङका खेलाडी छन् ।
घरबारी टोलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका एक सय पाँच भन्दा बढी खेलाडी छन ।

सुरेन्द्र हमालले भारोत्तोलनमा ओलम्पिक खेल्दा यही टोलका पार्वती थापा र अनिता श्रेष्ठले सुटिङमा प्रतिस्पर्धा गरेका थिए  । पार्वतीले सन् १९८८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । चीनमा भएको ११ औ ओलम्पिकमा समेत सहभागी पार्वतीले श्रीलंकामा भएको पाँचौ साफमा समूहगततर्फ रजत पदक जितेकी थिइन् ।

अनिताले सन् १९९२ मा बार्सिलोनामा भएको ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन । श्रीलंकामा भएको पाचौं साफ स्वर्ण पदक जितेकी उनले समूहगतमा पनि देशका लागि रजत पदक हात पारेकी थिइन् । सन् १९९० मा चीनमा भएको एसियाली खेलकूदमा प्रतिस्पर्धी बनेकी उनले १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् ।

घरबारी टोलकै लक्ष्मण थापा, आशा थापा विष्ट, बदरुद्दिन अन्सारी, मोहम्मद अहमद अन्सारी, केशवप्रताप सिंह र रवि सिंहले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ सकेका छन् ।

त्यस्तै, अभयलाल श्रेष्ठले ह्यान्डबल, समिर अर्यालले सुटिङ, गोपी सिंहले ब्याडमिन्टन, शान्ति सिंहले कबड्डी, जयन्तकुमार शर्माले ह्यान्डबल, विजयन्तकुमार शर्माले हक्कीमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेका छन् । एथलेटिक्सका वरिष्ठ प्रशिक्षक तथा पूर्वराष्ट्रिय कप्तान विक्रमसिंह थापा, भलिबलका अन्तर्राष्ट्रिय खेलाडी तीर्थराज श्रेष्ठ, बक्सिङका राष्ट्रिय खोलडी सोहन श्रेष्ठ पनि घरबारी टोल कै खेलाडी हुन् ।

तर, पछिल्ला दिनमा भने घरबारी टोलका बालबालिकाहरुमा खेलकुदप्रतिको आकर्षण घट्दै गएको छ । जसका कारण घरबारी टोलका नया पुस्ता खेलकुदबाट बिस्तारै टाढिदै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्