Main News

नेपालमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने

हिमालय टिभी
२०७७ पुष १४ गते ७:२१
नेपालमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा पुगेका बेला अचानक नेपाल आएको चिनियाँ उच्चस्तरीय टोलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नआएको बताएको छ ।

हिजो साँझ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले आफूहरुको नेपाल भ्रमण आन्तरिक मामिलामा छलफल गर्नका लागि नभएको बताएका छन् ।

खनालसँगको भेटमा चिनियाँ टोलीले नेपालको सत्तारुढ दलमा देखिएको विवादमा आफूहरुले कसैको पनि पक्ष नलिने नीति भएको बताएको थियो । खनालपछि टोलीले जसपाका नेता भट्टराईसँग भेट गरेको थियो।

सो भेटमा पनि चिनियाँ उपमन्त्रीले आफूहरुको भ्रमणलाई लिएर भएको हल्ला साँचो नभएको प्रष्ट्याएका थिए। जसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेका अनुसार भट्टराईसँग उनीहरुले नेपालको आन्तरिक राजनीतिक विवादमा छलफल गर्नु आफूहरुको कुनै योजना नरहेको बताएका थिए।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले पनि नेपालको पछिल्लो अवस्थाबारे आफूहरु जानकार रहेको बताएका छन्। उनले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध राम्रो रहेको तर आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको बताएका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा औपचारिक विभाजनको प्रक्रियामा छ।

चारदिने भ्रमणमा आइतबार काठमाडौं आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अर्का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेर नेकपाको विभाजनको विषयमा चासो राखेको थियो। तर टोलीले आफ्ना भेटघाटका कार्यक्रम भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *