Main News

सभामुख सापकोटा, अध्यक्ष डा. भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हिमालय टिभी
२०७७ पुष १४ गते ६:१२
सभामुख सापकोटा, अध्यक्ष डा. भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

१४ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुहुँदै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको थियो ।

सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताउनुभएको थियो ।

कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्रमण आदानप्रदान गर्ने विषयमा समेत उहाँहरुबीच विचारविमर्श भएको थियो । सभामुख सापकोटाले कोरोना महामारी नियन्त्रणका लागि चीन सरकार र चिनियाँ जनताले देखाएको सहयोगको समेत त्यस अवसरमा प्रशंसा गर्नुभएको थियो ।

यस्तै प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो । छुट्टाछुट्टै भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । सोमबार बिहान मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको थियो ।

यस्तै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले भेटवार्ता गरेको छ ।

अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो ।

यस्तै उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

उपमन्त्रीले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताउनुभएको पूर्वप्रधानमन्त्री डा भट्टराईलाई उद्धृत गर्दै जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उहाँले उल्लेख गर्नुभयो । भेटमा उहाँले अध्यक्ष भट्टराईसँग नेपालचीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *