Main News

पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते २०:४५
पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको राइड सेयरिङ कम्पनी पठाओमा विवाद देखिएको छ । कमिसन बढी लिएको र आधारभूत सेवासुविधा नदिएको भन्दै पठाओमा आवद्ध चालक आन्दोलनमा छन् । आन्दोलित चालकले आज काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । तर कम्पनीले भने अधिकांश माग सम्बोधन भइसक्दासमेत चालकले नमानेको दाबी गरेको छ ।

केही दिनयता ११ बुँदे माग राखेर आन्दोलन गरिरहेका पठाओ आवद्ध चालक सोमबार कम्पनीको कार्यलय घेर्न पुगेका थिए । ठूलो संख्यामा जम्मा भएर कार्यालय घेर्न पुगेका चालकले आफ्नै कम्पनीविरुद्ध नारा लगाए ।

नारा लगाइरहेका चालक त्यसपछि ढुंगामुढा र तोडफोडमै उत्रिए ।तोडफोडका कारण कार्यालयमा क्षति पुगेको छ । तोडफोडमा उत्रिएका चालकलाई नियन्त्रणमा लिन र भीड तितरबितर बनाउन प्रहरीले बल नै प्रयोग गर्नुपर्‍यो । करिव ५० जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

चालकले ११ बुँदे मागपत्र एक साताअघि कार्यालयमा बुझाएका थिए । पठाओले आफूहरुसँग बढी कमिशन लिएको, बीमा नगरिदिएको र मन नपरेकालाई निस्कासन गरेको चालकको आरोप छ ।

एक हप्तासम्म माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको चालकको भनाइ छ । तर दबाबको नाममा आफ्नै कार्यालय तोडफोड गर्न तम्सिने सहकर्मीको शैली भने गलत भएको चालकले स्वीकारेका छन् । त्यस्तालाई कारबाही गरिनुपर्ने अन्य चालकको माग छ । तर त्यस बहानामा आफ्ना माग पुरा गर्नबाट कम्पनि भाग्न नपाउने उनीहरुको भनाइ छ ।

तर पठाओले भने अनैतिक काम गर्ने केही चालकलाई केही समयअघि निस्कासित गरिएको र उनीहरुकै उक्साहटमा तोडफोड भएको दाबी गरेको छ । चालकका धेरैजसो जायज माग सम्बोधन भइसकेको र अन्य केही प्रकृयामा रहेको उसले जनाएको छ ।

करिब साढे २ वर्षअघि सञ्चालनमा आएको पठाओले दुई पाङ्ग्रे तथा ट्याक्सीमार्फत यात्रु ओसार्ने र खाद्यान्न डेलिभरी सेवा दिँदै आएको छ । पछिल्लो समय राइड सेयरिङ सेवा दिने पठाओको लोकप्रियता बढ्दै गएको छ ।

अहिले ७ हजार सक्रिय चालक रहेको पठाओले जनाएको छ । पठाओका कारण धेरै यात्रुलाई सहज मात्र भएको छैन् धेरै युवाले रोजगारीसमेत पाएका छन् । कम्पनी र चालक मिलेर वार्ताबाट समस्याको समाधान खोज्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *