Main News

प्रधानमन्त्री ओलीसँग मिलेर जान प्रचण्ड–नेपाल समूहलाई चिनियाँ टोलीको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १९:१७
प्रधानमन्त्री ओलीसँग मिलेर जान प्रचण्ड–नेपाल समूहलाई चिनियाँ टोलीको सुझाव (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीले प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान प्रचण्ड-नेपाल समूहलाई सुझाव दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्टिय विभागका उपमन्त्री गुओ यचौ नेतृत्वको टोलीले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टा–छुट्टै भेटवार्ता गरी नफूट्न सुझाव दिएको हो । तर नेकपाका तीनै जना शीर्ष नेताले मिलेर जानका लागि प्रधानमन्त्री ओली सच्चिनुपर्ने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने शर्त राखेका छन् ।

नेकपाभित्रको विवादका कारण प्रतिनिधिसभाविघटन भएर राजनीतिक संकट गहिरिँदै गएपछि नेकपाका दुई समूह मिलाउन चिनियाँ टोली आएको हो । चिनियाँ टोलीले बिहानै खुमलटारमा पुगेर प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्न पार्टी एकता कायम राख्न सल्लाह दिएको हो ।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नका लागि तयार बताएको प्रचण्ड निकट एक नेताले जानकारी दिएका छन् ।ओलीले प्रतिनिधिसभा विघटनलाई फिर्ता गराउनुपर्ने प्रचण्डको अडान छ ।

प्रचण्डलाई भेटेपछि चिनियाँ टोलीले बानेश्वरमा माधवकुमार नेपाल र डल्लुमा झलनाथ खनालसँग भेटेको थियो । दुवै भेटमा चिनियाँ टोलीले नेकपाको एकतालाई कायमै राख्नका लागि सुझाव दिएकोमा नेपाल र खनालले पनि प्रचण्डले जस्तै पहिला ओली सच्चिनुपर्ने धारणा राखेको बुझिएको छ ।

चिनियाँ टोलीले चीन नेपालमा स्थिर सरकारका पक्षमा रहेको र त्यसका लागि नेकपाका दुवै समूह मिल्नुपर्ने चिनियाँ राष्टपति सी जिनपिङको पनि सन्देश रहेको नेकपाका नेताहरुलाई सुनाएको छ ।

चिनियाँ टोलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । भेटमा चिनिया टोलीले नेकपाका दुवै समूह मिल्नुपर्ने चिनियाँ राष्टपति सी जिनपिङको सन्देश सुनाउँदै त्यसका लागि भूमिका खेल्न आग्रह गरेको थियो ।

पछिल्लो पटक चिनियाँ टोली खुलम खुल्ला नेकपाका दुई समूहको मिलनका लागि सक्रिय भएपछि चीन पनि नेपालमा हस्तक्षेपकारी भूमिकामा प्रकट भएको र त्यसका लागि नेकपाकै सरकारले ठाउँ दिएको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *