खेलकूद

लुम्बिनीलाई ६२ रनले हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको समूह विजेता

हिमालय टिभी
२०७७ पुष १३ गते १८:३६
लुम्बिनीलाई ६२ रनले हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको समूह विजेता

१३ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगिसकेको विभागीय टोली एपीएफ क्लब समूह ए को विजेता बनेको छ ।

दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा आज भएको समूह ए को अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६२ रनले हराउँदै एपीएफ समूह विजेता बनेको हो ।

यसअघि नै अन्तिम चारमा पुगिसकेको लुम्बिनी उपविजेता बनेको छ । १ सय २३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले पुरै ओभर खेलेर ७ विकेट गुमाउदै ६१ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीलाई सस्तैमा समेट्न एपीएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । ओपनर ज्योती पाण्डेले ४९ र राजमती ऐरीले ४४ रन बनाए ।

आजै भएको पहिलो खेलमा प्रदेश २ ले सान्त्वना जीत निकालेको छ । प्रतियोगिताबाट बाहिरी सकेको प्रदेश २ ले कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले हरायो ।

१ सय ६६ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले पुरै ओभर खेलेर २२ रन मात्र बनाउन सक्यो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले ३र३ विकेट लिए । टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले पुरै ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

ओपनर अनुराधा चौधरीले ६० बलमा नटआउट ६९ रन बनाईन् । प्रतियोगितामा भोलीदेखी समुह बी का खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्