Political Hightlights

संसद विघटनविरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन, नेताहरुको फरकफरक अभिव्यक्ति

हिमालय टिभी
२०७७ पुष १३ गते १७:३७
संसद विघटनविरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन, नेताहरुको फरकफरक अभिव्यक्ति

१३ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख विपक्षी नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गरेको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शनपछि भएको सभामा कांग्रेसका शीर्ष नेताहरुले फरक फरक अभिव्यक्ति दिएका छन् । नेताहरुले प्रधानमन्त्रीको कदमको विरोध गरे पनि चुनावी मोह रहेको भने देखाएका छन् ।

भक्तपुरमा भएको विरोधसभामा सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय पार्टीलाई मान्य हुने बताउनु भएको छ । उहाँले यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर भन्न नमिल्ने बताउनुभयो ।

सभापति देउवाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउनुभयो । तर देउवाले अदालतमा विचाराधिन मुद्धामा धेरै नबोल्ने पनि बताउनुभयो ।

तनहुँमा भएको सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताउनुभयो । पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिले देशमाथि अपराध गरेको आरोप लगाउँदै भविष्यमा आउने परिस्थितिको जिम्मेवारी दुबैले लिनुपर्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतलाई संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझेर फैसला गर्न पनि आग्रह गर्नुभयो ।

विराटनगरमा भएको कार्यक्रममा नेता शेखर कोइरालाले कांग्रेस प्रधानमन्त्री ओलीको मतियार हुन सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्चले निर्वाचनमा जान आदेश दिए त्यसलाई सुनिश्चित गर्न पनि कांग्रेस निरन्तर सडकमा उत्रने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसका शिर्ष नेता भने भावि कदमलाई लिएर विभाजित छन् ।

एकथरी नेता चुनावको तयारीमा जुट्नुपर्ने बताइरहेका छन् भने अर्काथरीले चुनाव हुन नसक्ने भन्दै संसद पुनर्स्थापनामा जोड दिइरहेका छन् । आज भएका विरोध सभामा पनि त्यसको झल्को देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्