आर्थिक

ग्रामीण हाट बजार : स्थानीय उपभोग्य सामग्री, कला र संस्कृतिको साझा मञ्च (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १६:५३
ग्रामीण हाट बजार : स्थानीय उपभोग्य सामग्री, कला र संस्कृतिको साझा मञ्च (भिडियोसहित)

१३ पुस २०७७ धनकुटा । ठुला बजार र मुद्रा अभावमा वस्तु विनिमय प्रथालाई सहजरुपमा सञ्चालन गर्न सयौ वर्षअघि गाउँघरबाट हाट बजार शुरु भएको थियो । तर वस्तु विनिमय प्रथाको अन्त्य भइ ठुलाठुला बजारको विकास भए पनि धनकुटामा स्थानीयस्तरमा लाग्ने हाटबजारको लोकप्रियता अहिले पनि उत्तिकै छ ।

बजारको पहुँचभन्दा टाढा भएका वर्गलाई दैनिक आवश्यक सामग्री स्थानीयस्तरमै उपलब्ध गराउने एउटा माध्यम हो हाट बजार । धनकुटामा हरेक गाउँ सडक सञ्जालमार्फत जोडिएका छन् । दैनिक उपभोग्य सामग्री गाउँगाउँमै उपलब्ध हुन्छ । तैपनि धनकुटामा हाट बजारको महत्व पहिले जति थियो अहिले पनि उत्तिकै छ ।

स्थानीय हाट बजारमै दैनिक उपभोग्य सामानसहित कपडा, जुत्ताचप्पल ,श्रृगार सामग्री तथा कृषिजन्य उत्पादन पाउने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता कायमै रहेको हो ।

हाट बजारमा गाउँमा उत्पादन भएका कृषिजन्य उत्पादन विक्रीका लागि किसानहरु पुग्ने गरेका छन् । अनि दैनिक उपभोग्य सामग्री खरिदका लागि गाउँगाउँबाट उपभोक्ता बजारसम्म पुग्ने गर्दछन् । हाट बजारले स्थानीयस्तरको कला संस्कृतिसँग जोडिएका सामग्रीको खरिद विक्रीलाई सघाएको छ । यसले स्थानीय कला, संकृतिको संरक्षण र प्रवर्द्धन गर्न पनि सहयोग गरेको छ ।

अहिले धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटारसहित जिल्लाका दुई दर्जनभन्दा बढी स्थानमा साप्ताहिक हाट लाग्ने गरेको छ । कर संकलन हुने भएकाले हाट बजार, गाउँपालिका र नगरपालिकाको आम्दानीको स्रोत पनि बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *