खेलकूद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ को सान्त्वना जित

हिमालय टिभी
२०७७ पुष १३ गते १३:२१
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ को सान्त्वना जित

१३ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट ट्वेन्टी ट्वेन्टी प्रतियोगितामा प्रदेश–२ ले सान्त्वना जित निकालेको छ ।

दाङको लमहीमा आज सम्पन्न खेलमा प्रदेश–२ ले कर्णाली प्रदेशमाथि १ सय ४३ रनको जित निकालेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो ।

कर्णालीका कुनै ब्याट्सम्यानले दोहोरो रनको अंक जोड्न सकेनन् । कर्णालीकी त्रिसना विश्वकर्माले सबैभन्दा बढी सात रन बनाइन् । त्यस्तै कर्णालीले सात रन नै अतिरिक्त रनको रुपमा पाएको थियो ।

यसअघि देउखुरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । प्रदेश(२ की अनुराधा चौधरी ६९ रनमा नटआउट रहिन् । त्यस्तै शोभा आलेले २३ तथा विमला मगरले २१ रन बनाए । बलिङमा कर्णालीकी निशा पराजुलीले दुई विकेट दिइन् । शुरुवाती दुई खेल हारेका दुबै टोली समूह चरणबाटै बाहिरिइसकेका छन् ।

यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ आमने सामने भइरहेका हुनेछन् । समूह ए बाट दुबै टोलीले सेमिफाइनलमा स्थान पक्का पारिसकेका छन् । आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्