Main News

नेपालमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज पनि भेटघाटमा व्यस्त

हिमालय टिभी
२०७७ पुष १३ गते ७:२२
नेपालमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज पनि भेटघाटमा व्यस्त

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको टोलीले आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको टोलीले आज नेकपा नेताहरुसँग भेटवार्ता गर्दैछ ।

टोलीले आज बिहान ९ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमल्टारमा भेटेपछि अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नेछ। नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न टोली बिहान ११ बजे उहाँकै निवास डल्लु पुग्नेछ ।

हिजो काठमाडौं आइपुगेको चिनियाँ टोलीले साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती अबेर बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्रीसँगको भेटवार्ता आज हुने भनिए पनि हिजै भएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा आएको विभाजनबारे अध्ययन गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रधानमन्त्री ओलीसँग करिब दुई घण्टा छलफल गर्नु भएको थियो ।

भेटमा नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे कुराकानी भएको भट्टराईले बताउनुभयो । चिनियाँ पक्षले आपसी हित र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे चासो व्यक्त गरेको भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि सहयोग रहने विश्वास व्यक्त गर्नु भएको छ ।

टोलीले राष्ट्रपति भण्डारीसँग साँझ ५ बजेबाट करिब एक घण्टा भेटवार्ता गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको टोलीले भेटवार्रतालाई तिब्र पारेको छ ।

चार दिने नेपाल भ्रमणमा आएको टोलीले नेकपा एकताको सम्भावनाबारे खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको छ । अहिलेको अवस्था थप तरल हुँदै गएर नेपालमा ‘इन्डो–अमेरिकन’ प्रभाव बढ्न सक्ने बेइजिङको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *