Main News

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चीनको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

हिमालय टिभी
२०७७ पुष १२ गते १५:२३
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चीनको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

१२ पुस २०७७ काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय टोली काठमाडौं आएको छ ।

प्रतिनिधि सभा विघटन र नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली काठमाडौं आइपुगेको हो । टोलीमा चिनियाँ कम्यूनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानलगायत चार जना छन ।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने बताइएको छ ।

नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताको सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी जिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।

चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ । नेकपाको विभाजन रोक्ने प्रयासमा चिनियाँ टोली आएको विश्लेषण गरिएको छ ।

चिनियाँ राजदूत होउ यान्छीले नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेको पृष्ठभूमिमा चिनियाँ टोली काठमाडौं आएको छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले औपचारिकरुपमा हालसम्म बोलेको छैन । तर चीनले नेकपाको विभाजनले नेपालमा अस्थिरता झन् बढ्ने र संविधान निर्माणभन्दा अगाडिको अवस्थामा नेपाल पुगेको विश्लेषण गरेको छ।

त्यही भएर पनि उसले पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नै विभाजनभित्रको कारण खोतल्ने उद्देश्यले काठमाडौं पठाएको हुन सक्ने अनुमान छ ।

गुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि हुनुहुन्छ। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ।

गुओ एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ०७४ फागुन ३ मा ओली प्रधानमन्त्री भएलगत्तै ०७४ फागुन ८ मा आउनुभएको थियो । गुओको भ्रमण भएको तीन महिनापछि एमाले र माओवादीबीच पार्टी एकीकरण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *