Main News

प्रधानमन्त्री र राष्ट्रपतिकाे मुकुन्डाे लगाएर नागरिक उत्रिए सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते २०:३६
प्रधानमन्त्री र राष्ट्रपतिकाे मुकुन्डाे लगाएर नागरिक उत्रिए सडकमा (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको मुद्दा अब अदालत र राजनीतिक दलमा मात्र होइन सडकमा पनि आएको छ ।

नेकपाको ओलीपक्ष बाहेक सबैजसो राजनीतिक दल र नागरिकहरु संसद विघटनको विरोधमा छन् । र, नेकपाकै एक समूह र प्रतिपक्ष दल नेपाली कांग्रेस जनता सामाजवादी पार्टीले सडकमा प्रदर्शन गर्दै आएका छन् । यो प्रदर्शनमा अब नागरिक समाज पनि थपिएको छ ।

संसद विघटनविरुद्ध ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा मानवअधिकारकर्मी, राजनीतिज्ञ, पत्रकार पनि आज सडकमा निस्किए । सडकमा निस्किएका नागरिक अगुवाहरुले सरकार र न्यायालयमाथि गम्भीर प्रश्नसमेत उठाएका छन् ।

करिब दुई तिहाई जनमत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीभित्रको विवादका कारण बीचमै संसद विघटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युन्ष्टि पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाले सडकमै उत्रिएर संसद विघटनको विरुद्ध प्रदर्शन गरेको भोलिपल्ट नागरिक अगुवा पनि सडकमा उत्रिए ।

प्रदर्शनकारीले बोकेका ब्यानरले नै उनीहरु सडकमा उत्रिनुको कारण बताइरहेको छ । अहिलेको सरकार सम्पूर्ण परिवर्तन उल्टाउन लागेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिए । र त्यसको विरोध गरे । संसद विघटनविरुद्ध प्रदर्शनकारीले शंख बजाएर विरोध गरे ।

संसद विघटन गरेर सरकार उल्टो बाटोमा हिँडेको उनीहरुको ठहर छ । त्यसैले उनीहरु प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अनुहार अंकित मुखुन्डो लगाएर उल्टो हिँडे ।

उनीहरुले माइतीघरमै कोण सभा गरे । सभाका वक्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको लोकतन्त्र र प्रजातन्त्र सखाप पार्ने शासक बन्न लागेको बताए । उनीहरुले राजाबाट फिर्ता ल्याएको सार्वभौमसत्ता जनताबाट बालुवाटार र शीतल निवासमा सरेको हो भनेर सरकारलाई प्रश्न समेत गरे ?

लेखक, कलाकार, कवि लगायत ५४ जना नागरिक अगुवाको गत पुस ८ गतेको भेलाले लोकतन्त्र रक्षाका लागि भन्दै ‘बृहत् नागरिक आन्दोलन’ नामक अभियान गठन गरेको थियो । त्यै अभियानको अगुवाइमा प्रदर्शन भएको हो । बृहत नागरिक आन्दोलनले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *