आर्थिक

ग्रीलजन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

हिमालय टिभी
२०७७ पुष ११ गते १७:३९
ग्रीलजन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

११ पुस २०७७ काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् ।

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उहाँको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताउनुभयो ।

ग्रीलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्तासमेत मारमा परेको अध्यक्ष कटुवालले बताउनुभयो । यसबाट देशभरी सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख नागरिकको रोजीरोटी गुम्ने पनि अध्यक्ष कटुवालले बताउनुभयो । बजारमा देखिएको अस्वभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रीलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *