Main News

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

हिमालय टिभी
२०७७ पुष ११ गते १२:५४
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

११ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भए लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली भोलि नेपाल भ्रमणमा आउन लागेको हो । टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठ्यारो अवस्था सिर्जना भएको छ।

उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ । नेपाल बसाइका क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ। गुओ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन्।

बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा वरिष्ठ हुन्। गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *