Main News

पार्टी आधिकारिकतासम्बन्धी विवाद चाँडो टुङ्ग्याउन आयोगसँग प्रचण्ड-नेपाल समूहको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते १४:४५

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

बिहीबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदहरुसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

उक्त समूहले आफ्नो पक्षका २ सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफुहरु आधिकारिक भएको बताउनुभयो । केन्द्रीय कमिटीका करिब दुई तिहाईको हाराहारीका सदस्यहरु आफुहरुतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै सशरीर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २ सय ९५ सदस्य नै सशरीर उपस्थित हुन सकिने बताउनुभयो ।

सशरीर उपस्थित हुनुभन्दा ठुलो कुनै प्रमाण हुन नसक्ने जिकीर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरुको नामावलीलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निर्क्योल तथा निर्णय गरिदिन निर्वाचन आयोग समक्ष माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *