Main News

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते १३:१७
बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर प्रदेश सरकारमा पनि देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ ।

सत्तारूढ नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना प्रदेश सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । सांसदहरु प्रदेशसभा सचिवालय पुगेर बिहान साढे ११ बजे हस्ताक्षरसहितको प्रस्ताव दर्ता गरेका थिए ।

यसको प्रस्तावकमा शालिकराम जमकट्टेल बस्नुभएको छ । अविश्वास प्रस्तावमा भावि मुख्यमन्त्रीका रुपमा अस्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

त्यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका जम्कट्टेलसहित तीन जना मन्त्रीले आज बिहान राजीनामा दिनुभएको थियो । उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।

यो प्रस्तावसँगै मुख्यमन्त्री डोरमणि पौडेल संकटमा पर्नुभएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको असर प्रदेशसभामा पर्ने निश्चित भए पनि बागमतिमा भने आज नै अविश्वास प्रस्ताव परेको हो ।

बागमतीमा यसअघि पनि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन खोजिएको थियो । ओलीपक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै संकटमा हुनुहुन्थ्यो ।
बागमती प्रदेशसभामा १ सय १० जना सदस्य छन् । ति मध्ये नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षमा ३४ जना मात्रै छन् ।

अविश्वास प्रस्ताव पेश भए पनि नयाँ सरकार बनाउन भने नेकपा सांसदलाई कांग्रेसको सहयोग चाहिने भएको छ । तत्कालीन एमाले संसदीय दलको निर्वाचनमा शाक्यलाई हराउँदै पौडेल मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *