आर्थिक

भैँसी पालनबाट राम्रो आम्दानी गर्दै बाँकेका किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ९ गते ६:२४
भैँसी पालनबाट राम्रो आम्दानी गर्दै बाँकेका किसान (भिडियोसहित)

९ पुस २०७७ बाँके । बाँकेका किसानले भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । दुग्ध विकास संस्थान र डेरी उद्योगलाई दूध बेच्दै आएका किसानले समयमा नै भुक्तानी नपाउँदा समस्या परेको गुनासो गरेका छन् । उनीहरुले सरकारसँग पनि सहयोगको आशा राखेका छन् ।

बाँकेको डुडुवा गाउँपालिकाको हल्कारापुरुवा गाउँका राम सुहावन यादवको परिवरले एक सय २० वटा भैसी पालेर दैनिक ३ सय ५० लिटर सम्म दूध बिक्री गर्दै आएको छ । दूध बिक्रीबाट यादव परिवारले दैनिक १८ देखि २१ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छ ।

यादवले स्थानीय र मुर्रा जातका भैसी पाल्दै आउनु भएको छ । उहाँका भैसीले दैनिक २ देखि १६ लिटरसम्म दुध दिन्छन । यादवको पुस्तौनी पेशा नै भैसी पालन हो । यहाँका यादव परिवारले मात्र नभएर गाउँका करिब ४० घर परिबारले भैसी पालन गरेर दुध बिक्री गरि राम्रो आय आर्जन गरि रहेका छन ।

दूध बिक्रीबाट हुने आम्दानीको करिब आधा रकम भैसीको दाना पानीमा खर्च हुन्छ भने आधा रकम बचत हुन्छ ।

१ सय २० वटा भैसी पालन गरेर दूध उत्पादन गर्न त्यति सहज भने छैन । भैसीको लागि घाँस ,दाना पानी र अन्य स्याहार सुसार गर्ने काममा यादवपरिवारका ६ दाजु भाई सहित ४० सदस्यले नै मिलेर काम गर्छन । भैसी पालन गर्दा बिहान ४–५ बजे देखि राती १० बजे सम्म खटिनु पर्छ ।

भैसी पालेर दुध उत्पादन गर्न जत्ति गाह्रो छ । त्यति नै गाह्रो छ दूध बेचेर पैसा लिन । उत्पादन भएको दूध बिक्री गर्न समस्या भए पछि यादवले गाउँ मै ३ हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरेर गाउँका अन्य ४०)५० जना किसानको दुध समेत किन्नुहुन्छ । र त्यो दूध एकमुस्ट रुपमा दुग्ध बिकास संस्थान र अन्य डेरी उद्योगहरुलाई बिक्री गर्नुहुन्छ ।

कोरोना भाइरसको संक्रमण लकडाउनका कारण होटेल रेष्टुेन्ट व्यवसाय प्रभावित भएका कारण दुधको बिक्री घटेको छ । त्यसैले पनि दुग्ध उत्पादक किसान समस्यामा परेका छन । अहिले पनि बिक्री भएको दुधको रकम पनि दुग्ध बिकास संस्थान र डेरी उद्योगहरुले समयमा भुक्तानी नदिँदा पनि किसानलाई समस्या थपिएको छ ।

त्यसैले भैसी पालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउनका लागि भैसीको नश्ल सुधार र भैसी गोठको सुधार गर्नेतर्फ तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।
कृष्ण अधिकारीब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *