Main News

प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रने कांग्रेसको निर्णय

हिमालय टिभी
२०७७ पुष ८ गते १८:३६
प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रने कांग्रेसको निर्णय

८ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताउनुभएको छ ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन आजको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले संसद विघटनको कदमको प्रतिरोध गर्ने बताउनुभएको हो ।

पुस ५ गते संसद विघटनपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेपाली कांग्रेसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक ठहर गरिसकेको स्मरण गराउँदै कांग्रेस सो निर्णयको विरुद्धमा उत्रिने बताउनुभयो ।

उहाँले बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिनुभयो । बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका विरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।

आजको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आआफ्नो धारणा राख्नुभएको थियो । बैठकले पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले आन्दोलनको घोषणा गर्ने भएको छ ।

बैठकले नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय समिति सदस्य कृष्णप्रसाद सिटौलासँगै सबै कोरोना संक्रमित पार्टी सदस्य तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्ने र सरकारको असंवैधानिक कदमका विरुद्ध अन्य आन्दोलनको कार्यक्रम घोषणा हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *