Main News

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

हिमालय टिभी
२०७७ पुष ८ गते ७:३०
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

८ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

आइतबार र सोमबार गरी १३ वटा रिट परेकोमा ११ वटा दर्ता भएको थियो । हिजो पनि नेकपाका चार सांसदहरुले रिट निवेदन दर्ता गरेका थिए । ती रिटमाथिको पेशी आजका लागि तोकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सबैजसो रिटमा संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ । सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेलसमेत, लोकेन्द्रबहादुर ओली र केशरजंग केसी, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद श्रेष्ठले रिट दायर गर्नुभएको छ ।

यीमध्ये सन्तोष भण्डारीको संवैधानिक इजलासमा र अरुको साधारण इजलासमा सुनुवाइ हुनेछ ।

भण्डारीले धारा ७६ को विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद विघटन हुन सक्ने भन्दै अहिले कानूनको शासनको धज्जी उडाउने भावनाबाट प्रेरित भएको र राष्ट्रलाई गहिरो संकटमा लैजाने गरी सरकारले कदम चालेको जिकीर गर्नुभएको छ ।

त्यस्तै अन्य रिटमा प्रधानमन्त्री र राष्ट्रपतिले मनोगत लहडका आधारमा संसद विघटन गरेको, राष्ट्रपति र प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको भनी संसद विघटनको निर्णय बदर गर्न माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट जारी हुने दुवै कार्य असंवैधानिक रहेको रिटमा जिकीर गरिएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अब धेरैको नजर न्यायालयमा केन्द्रित छ ।

यसअघि २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन् सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *