लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत

हिमालय टिभी
२०७७ पुष ८ गते ६:२२
लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत

८ पुस २०७७ रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।

सात वर्षदेखि १४ वर्षका उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो । गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।

तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पीडा हुने देखेर बाहिर बोल्ने आँट नगरे पनि अहिले बुबाआमाको मृत्युपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । “म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबाआमालाई पीडा हुन्छ कि भनेर मौन रहेँ”, पीडित महिलाले भन्नुभयो, “अहिले बुवाआमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।”

सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाइले घरमा बाँधेर राख्ने गरेको पीडा सुनाउँदै उहाँले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताउनुभयो । बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेराबारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडेको उहाँले सुनाउनुभयो ।

लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडित युवतीको गुनासो छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्थे । । “आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन, असह्य पीडाले मलाई मानसिक समस्या भयो”, उहाँले भन्नुभयो, “डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुट्कारा पाएँ ।”

करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवती अब सात वर्षसम्म सहेको बलात्कारको पीडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउनुहुन्छ । “तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाएँ, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्यायविरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्नुहुन्छ, “न्याय मरेको छैन भने अवश्य पाउनेछु भन्ने आशा छ ।” मुलुकी अपराधसंहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *