आर्थिक

काेराेना महामारीका कारण अहिले मुलुककाे अर्थतन्त्र गम्भीर अवस्थामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ७ गते २०:५२
काेराेना महामारीका कारण अहिले मुलुककाे अर्थतन्त्र गम्भीर अवस्थामा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । कोरोना महामारीका कारण अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर समृद्धिको कार्यभारसहित नागरिकले ५ वर्षका लागि चुनेको सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको छ । यसले कोरोनाबाट थिलथिलो बनेको अर्थतन्त्रलाई अझ असर गर्ने भन्दै व्यवसायी र अर्थविद्ले चिन्ता जनाएका छन् ।

कोरोना महामारीले गर्दा अर्थतन्त्र समस्याग्रस्त छ । भुकम्प गएको वर्ष अर्थात २०७२ सालमा शून्यमा पुगेको आर्थिक वृद्धिदर कोरोना महामारीका कारण शून्यकै हाराहारीमा झर्ने आँकलन छ । यस्तोमा अर्थतन्त्रलाई उकास्न ध्यान केन्द्रित हुनुपर्नेमा सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

जसले अनावस्यक खर्च बढ्ने निश्चित छ । निजी क्षेत्रले नेकपाको आन्तरिक लडाईमा संकटग्रस्त अर्थतन्त्रलाई दाउमा पारिएको भन्दै मध्यावधि चुनाव दुर्भाग्यपूर्ण भएको बताएका छन् । यसले कोरोनाले बिगारेको लगानीको वातावरण झनै बिथोलिने र अर्थतन्त्रमा गम्भीर असर पुग्ने उनीहरुको मत छ ।

निर्वाचनमा ठूलो धनराशीको खाँचो पर्छ । २०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा साढे १० अर्ब रुपैयाँ खर्च भएको थियो । वैशाखमा घोषणा गरिएको निर्वाचन गराउन साढे १२ अर्ब भन्दा बढी खर्च हुने अनुमान छ । तर अहिले उठेको ‍राजस्वले सरकारको खर्च नै नधान्ने अवस्था छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिलेसम्म ३ खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठेको छ । तर खर्च भने ३ खर्ब ४३ अर्ब रुपैयाँ नाघिसकेको छ । आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋण र मौज्दातको सहारा लिई हिसाब मिलान गरिरहेको छ ।

यसबाहेक अहिले कोरोनाको खोप किन्न रकम जोहो गर्नुपर्ने दबाब सरकारसँग छ । यस्तोमा निर्वाचन खर्च जुटाउन या त विकास खर्च कटौती गर्नुपर्ने वा ऋण लिनुपर्ने देखिन्छ । विकास खर्च कटौती गर्दा सिधा असर अर्थतन्त्रमा देखिने अर्थविद्को भनाई छ ।

कोरोनाका कारण कैंयौं व्यवसायीको उठिबास मात्र भएन् धेरै जनता दुई छाक खान नसक्ने अवस्थामा पुगेका छन्। । तर सरकारले उनीहरुलाई कुनै भरथेक गरेको छैन । स्रोत नभएर जनतालाई राहत दिन नसक्ने बताइरहेको सरकार अर्बौँ खर्च हुने निर्वाचन गराउन बिना संकोच तम्सिएको छ ।

यसबाट सरकारले जनताप्रति उत्तरदायित्व महशुस नगरेको र संकटग्रस्त अर्थतन्त्रको हेक्का नराखेको प्रस्ट हुन्छ । अर्थतन्त्रलाई राजनैतिक दाउपेचको सिकार बनाउँदा मुलुकले ठुलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *