Main News

आज रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

हिमालय टिभी
२०७७ पुष ७ गते ६:१४
आज रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

७ पुस २०७७ काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि आज नयाँ पुजारी नियुक्त गरिने भएको छ ।

मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो ।

पुजारी बन्न पाँच दिनअघिदेखि चोसो खाएर बसेको, विभिन्न देवीदेवताका पूजापाठ गरिएको र रातो ओढ्ने ओढेर प्रक्रिया अघि बढाइएको अर्का पुजारी हेम बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मङ्गलबार हामी आठ पुजारी बसेर सानो पूजा सकेपछि नयाँ पानेजु नियुक्त गर्ने कार्य पूर्ण हुन्छ ।”

रातो मच्छिन्द्रनाथको आरती दिनमा पाँच पटक हुने गर्छ । मच्छिन्द्रनाथलाई बुङ्मती र तःबहाल दुवैतिर राख्दा दिनमा पाँच पटक आरती गरिने चलन रहेको मच्छिन्द्रनाथका गुरुज्यू अर्थात् मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “करुणामयको बिहान ५ बजे, दिउँसो १० देखि ११ बजे, साँझको आरती गर्नुपूर्व, साँझ परेपछि र अन्त्यमा राति ९ देखि १० बजे आरती गरिन्छ ।” हरेक दिन पाँच पटक गरिने सो आरती चार पटक आरती गुठीका मानिसले तथा एक पटक मन्दिरमा बस्ने पुजारीले नै गर्ने गरेको बज्राचार्यले जानकारी दिनुभयो ।

मच्छिन्द्रनाथलाई बुङ्मती वा पाटन जहाँ लगिए पनि श्रद्धाका साथ पाँच पटक आरती गर्ने चलन छ । दैनिक पाँच पटक गरिने सो आरती बिहान अनि साँझ एक गुठीले त अपराह्न अनि राति अर्को गुठीले गर्ने गरेको बज्राचार्यको भनाइ छ ।

हरेक दिन साँझ अघि गरिने आरतीलाई ‘दीपज्वाला’ भनिन्छ । लोकेश्वरको दैनिक चार पटक आरती गर्नका लागि ‘तःबहाल’ मा पाटन र बुङ्मती गुठीका मानिस रहनाका साथै ‘बुङ्मती’ मा पनि पाटन र बुङ्मती गुठीका मानिस रहेको पानेजु जगतपति शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “वृष्टिदेवको दैनिक नित्य पूजा गर्दा पर्वअनुसारका विभिन्न स्तोत्र पनि पाठ गरिन्छ ।” मच्छिन्द्रनाथका दायाँबायाँ र अगाडि बसेर स्तोत्र पाठ गरिने गरिएको बज्राचार्यको भनाइ छ ।

यसैगरी लोकनाथलाई सङ्क्रान्तिका दिन नेवार समुदायका मानिसले घरबाट पूजा सामग्री लिएर मन्दिरमा दर्शन गर्न आउने गरेको मैयाँ डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो,“यदि सङ्क्रान्तिका दिन जुठो तथा छेकथुन परेर मच्छिन्द्रनाथको दर्शन गर्न पाएनौं भने अन्य दिन गरे पनि कुनै फरक पर्दैन ।”

करुणामयको दर्शन खाली पेटमा गर्नुपर्छ भन्ने कुनै बाध्यता छैन । सक्ने मानिसले भोकै त नसक्नेले टन्न खाना खाएर बिहान, अपराह्न र बेलुका जुनसुकै समय मन्दिर आउन पाउने सुन्धारा निवासी चैत्यराज बज्राचार्यले बताउनुभयो ।

पानेजुलाई एक छाक
बुङ्मतीका साथै तःबहाल मन्दिरभित्र लोकेश्वरको दैनिक सेवामा खटिने पानेजुले दिनको एक छाक मात्र चोखो खाना खान पाउँछन् । मध्याह्न १२ बजेतिर सानो केराउको दाल, भात, घ्यू, चाकु, दूध र राति मात्र शुद्ध पानी पिउन पाइने नियम रहेको शाक्यले बताउनुभयो ।

गत मङ्सिर २४ गते वृष्टिदेव बुङ्मतीबाट पाटन ल्याइएसँगै तःबहालमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन् ।

प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा छ । दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ । विसं ८०० मा राजा वरदेवले रथ बनाउन लगाएको सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *