Main News

प्रधानमन्त्री ओलीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ पुष ६ गते १४:०७
प्रधानमन्त्री ओलीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अहिले ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफु निकटका विघटित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र संसद विघटनको निर्णयको पक्षमा उभिँदै ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिनुभएको छ ।

ओलीले सरकारलाई राम्रो सँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद विघटनको निर्णय गर्नुपरेको बताउनुभएको निवर्तमान सांसद निरुदेवी पालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सरकारलाई काम गर्न नदिने, विश्वभर कम्युनिष्ट आन्दोलन ओरालो लागेको बेला नेपालमा भने जुटाएर ठुलो पार्टी बनाएको अवस्थामा पनि सरकारलाई काम गर्न नदिने, एकताको काम पनि अगाडी बढाउन सकिएन । सरकारले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम गर्न दिइएन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने कुराले बाध्य भएर संसद विघटन गराउनुपरेको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।’

प्रधानमन्त्री ओलीले संसद विघटनको कारणसहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि निर्देशन दिनुभयो । राष्ट्रियताका सवालमा सरकारले गरेका कामहरुको प्रचार गर्न निर्देशन दिँदै आलीले मत माग्नुपर्ने बताउनुभएको हो ।

ओलीको भनाई उदृत गर्दै पालले भन्नुभयो ‘नयाँ जनादेशको लागि फेरि हामी जनतामा जानुपर्छ । संसद विघटनको कारणसहित जनतामा जानेछौँ । जनतासँग क्षमायाचना गर्नेछौँ । राष्ट्रिय एकताको सवालमा प्रधानमन्त्रीले लिएको कदम, कालापानी लिपुलेकलाई नेपालको नक्सामा सामेल गर्ने र सर्वसम्मत् संविधान संशोधन गरेवापत् प्रधानमन्त्रीलाई चुनौती आएको हो । देशलाई समृद्ध बनाउन प्रधानमन्त्रीले गरेको काम लिएर जनादेशमा जान निर्देशन गर्नुभयो ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले निर्देशन दिनुभएको थियो । भट्ट पूर्व माओवादी समुहका नेता हुन् । पूर्व माओवादी समूहका मन्त्रीहरुले राजीनामा दिएको भए पनि उद्योगमन्त्री रहनुभएका भट्टले राजीनामा दिनुभएको छैन ।

सांसद पालले प्रचण्ड माधव समूहले पौस ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्ष नजाने र ओलीले छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने बताउनुभयो ।

नेकपाको अन्तरिम विधानमा अल्पमत, बहुमतको व्यवस्था नभएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न नसकिने बताउनुभयो । साथै उहाँले प्रचण्ड–माधव समूहले पुस ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको उपस्थिति नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *