Political Hightlights

ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नपर्ने प्रचण्डको दाबी

हिमालय टिभी
२०७७ पुष ६ गते १३:३१
ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नपर्ने प्रचण्डको दाबी

६ पुस २०७७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आज बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उल्लेख गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध रहेको र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले एकतालाई कुनै तात्त्विक असर नपर्ने बताउनुभएको छ ।

प्रचण्डको विज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको उल्लेख छ ।

राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन प्रचण्डले कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट संघारमा पुगेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै पूर्वसमूहको भेला गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदको भेला बालुवाटारमा बोलाए पनि बादल भने जानुभएको थिएन ।

गृहमन्त्री बादलले पुल्चोकमै आफ्नो पूर्वसमूहको भेला आयोजना गर्नुभएको थियो । बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह रहेको छ।

उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो। उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेका छन् । आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले भने राजिनामा दिनुभएको छैन ।

राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो। तर आज बिहान पुल्चोकमा भएको भेलामा बादलले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र आफू थप छलफलपछि आवश्यक निर्णयमा पुग्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्