Main News

संविधानको अपव्याख्या गरी प्रतिनिधिसभा विघटन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ५ गते २१:२३
संविधानको अपव्याख्या गरी प्रतिनिधिसभा विघटन (भिडियोसहित)

५ पुस २०७७ काठमाडौं। नेपालको संविधानमा संसद्‌मा बहुमत प्राप्त दलको नेतालाई संसद् विघटनको अधिकार छैन । संविधानमा भएको व्यवस्था हेर्दा संविधानको धारा ७६ को उपधारा ७ मा ‘संसद् विघटन’ भन्ने वाक्यांश भेटिन्छ । तर त्यहाँसम्म पुग्न संसद् विघटन गर्ने प्रधानमन्त्रीले विभिन्न सर्त पूरा गरेको हुनुपर्छ जुन अवस्था अहिले पटक्कै होइन ।

संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । कुनै दलले बहुमत नपाए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्छ । त्यसलाई कानूनी भाषामा ‘दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

दुई वा दुईभन्दा दल मिल्ने अवस्था नभए वा कुनै पनि दलले स्पष्ट बहुमत नपाए प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनमा राष्ट्रपतिले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था छ । त्यो भनेको अल्पमतको सरकार हो ।

अल्पमतबाट प्रधानमन्त्री नियुक्त हुने व्यक्तिले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्छ । त्यसरी अल्पमतको सरकारले अर्को ३० दिनभित्र विश्वासको मत पाउनुपर्छ । त्यसरी विश्वासको मत नपाए बल्ल प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।

संविधानमा भनिएको छ, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ संंसद विघटन गर्न ओलीले धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई अघि सार्नुभएको छ, जुन परिस्थिति हुँदै होईन ।

त्यस्तै संसदीय प्रणालीको आधारभूत मर्म र मूल्य मान्यता र अभ्यास तथा विभिन्न मुलुकहरुको अभ्यासलाई अघि सारिएको छ, तर त्यसको कुनै प्रष्ट व्याख्या त्यसमा छैन ।

तथ्यहरुबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री ओलीले सनकमा संसद विघटन गर्नुभएको छ र राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको प्रावधानसँग बाझिने गरी संविधानको धाराको अपव्याख्या गर्दै संसद विघटन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *