Main News

राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

हिमालय टिभी
२०७७ पुष ५ गते १४:३९
राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

५ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको छ ।

राष्ट्रपतीको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी पहिलो चरणमा २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते अर्काे प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी तोक्नुभएको नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएकाले सो मिति तोकिएको जनाइएको छ ।

आज बिहान भएको मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गर्नुभएको हो । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोक्नुभएको हो ।

संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । यस्तै धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ ।

यसैगरी धारा ८५ (१)मा संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *