Main News

बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

हिमालय टिभी
२०७७ पुष ५ गते १४:३०
बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

५ पुस २०७७ काठमाडौं । पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो ।

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पूजारी माधवश्याम शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड महामारी अघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णाेद्वार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका हाँै ।” माहामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बङ्गलामुखी आउथे । बङ्गलामुखीलाई दशमहाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको शर्माले जानकारी गराउनुभयो ।

बङ्गलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उहाँलाई ग्रह वृहस्पतीका रुपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ । मानिसको जीवनमा वृहस्पती प्रवल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ ।

ललितपुर शहर बस्नुभन्दा अघि बङ्गलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ । बङ्गलामुखीलाई सतीदेवीको रुप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ । जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बङ्गलामुखीलाई ग्रह वृहस्पतीका रुपमा मान्दा कूलका साथै पितृदेवता पनि दुबै प्रसन्न हुने बुझाइ छ ।

बङ्गलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *