‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

हिमालय टिभी
२०७७ पुष ५ गते ९:०१
‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

५ पुस २०७७ इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय/रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ ।

यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो । त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।

पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचारप्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौँ जिल्ला भित्रका धेरैले पनि भर्खरै मात्र यो झरनाका बारेमा थाहा पाउँदै गएका छन् । अहिले बिदाको दिन झण्डै २०० र अन्य दिनमा २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनमा आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताउनुभयो ।

राईका अनुसार पछिल्लो समय सूर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । उहाँले नजिकैको दूरीमा दुई झरना भएकैले दिदीबहिनी झरना नामकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृश्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ ।

कुहिरोसँग लुकामारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीयवासी हर्षित भएको अध्यक्ष राईले जानकारी दिनुभयो । झरना नजिकै स्थानीय परिकार खानपिन उपलब्ध गराउने भावी योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतोलगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ । गएको दुई आर्थिक वर्षमा साविक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले रु २० लाख, प्रदेशको रु १० लाख आर्थिक सहयोग र स्थानीयको रु छ लाख गरी रु ३६ लाखको लगानीबाट रेलिङसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्ने काम गरिएको छ ।

थप स्तरोन्नितका लागि भर्खरै सङ्घीय सरकारले पठाएको टोलीले “महभीरको दिदीबहिनी झरना क्षेत्रको विस्तृत अध्यन प्रतिवेदन” तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

पछिल्लो समय झरना नजिकै आकर्षक गुफा रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पहिलेदेखि नै गुफाको बारेमा जानकारी नभए पनि प्रचारप्रसार अभावले चिनाउन नपाएकाले पछिल्लो समय स्थलगत अवलोकनसमेत गरिएको स्थानीय सोम सुनुवार बताउनुहुन्छ । एक वृद्धको भनाइलाई आधार बनाउँदै हेर्न जाँदा गुफा फेला परेको सुनुवारको भनाइ छ । “गुफा कति ठूलो छ पत्ता छैन । हामीले नै पहिलोचोटि हेरेका हौँ”, सुनुवारले भन्नुभयो, “नामजाँच गर्नुपर्ने देखिन्छ । अनि प्रचारप्रसारको अभाव छ ।” गुफाको प्रचारप्रसार गर्न सके दिदीबहिनी झरना आउनेको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको अनुमान छ ।

पछिल्लो समय झरनाको उचाइ पत्ता लागेको समेत स्थानीयले बताए । ठूलो (दिदी) झरनाको उचाइ ६८ फिट र सानो (बहिनी) ५८ फिट रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *