Main News

बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुल्यो

हिमालय टिभी
२०७७ पुष ५ गते ७:२५
बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुल्यो

५ पुस २०७७ काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आजदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो ।

नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित हुँदै आएको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएको धार्मिक विश्वास छ ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् ।

चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *