Political Hightlights

प्रधानमन्त्री ओली किन पुगे खुमलटार, प्रचण्डलाई भेटेलगत्तै गृहमन्त्री थापासँग भेटवार्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ४ गते १४:०५
प्रधानमन्त्री ओली किन पुगे खुमलटार, प्रचण्डलाई भेटेलगत्तै गृहमन्त्री थापासँग भेटवार्ता (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको छ ।

उहाँहरुको यो भेटघाट यसअघि हुने गरेको भेटघाटकै निरन्तरता रहेको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यसअघि बालुवाटारमा छलफल हुन्थ्यो । यो अघिपछि भइइरहेको छलफलकै निरन्तरता हो । विशेष अरु होईन । पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ । यो निरन्तरताको छलफल हो ।’

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासो साथ हेरिएको छ ।

प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये दुई पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिईरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउदै आउनुभएको छ ।

दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक सम्वैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको थियो ।

नेकपाले पुस ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक राखेको छ । यसअघि शीर्ष नेताहरु एकअर्कालाई आफ्नो पक्षमा पार्ने दौडमा लागेका छन् ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल) सँग भेट गर्नु भएको छ ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुग्नु भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले अन्य मन्त्रीहरुसँग पनि भेट गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्