खेलकूद

पल्सर स्पोर्टस अवार्ड : पिपुल्स च्वाईस अवार्डको मनोनयमा परेका पाँच खेलाडीलाई चिनौँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ४ गते ६:२२
पल्सर स्पोर्टस अवार्ड :  पिपुल्स च्वाईस अवार्डको मनोनयमा परेका पाँच खेलाडीलाई  चिनौँ (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । पुस २८ गते हुने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयमा पाँच खेलाडी परेका छन् । यो अवार्डको मनोनयनमा पर्नेमा यसपटक महिला खेलाडीको बाहुल्यता रहेको छ । गत वर्ष गरेको प्रदर्शन र चर्चाका आधारमा पाँच खेलाडीको मनोनयन गरिएकोमा एक जना मात्र पुरुष खेलाडी समावेश भए ।

नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डको एउटा विधा हो पिपुल्स च्वाइस अवार्ड । यो अवार्डका लागि शीर्ष ५ जना खेलाडीको नाम आयोजक मञ्चले सार्वजनिक गरेको छ । गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा गरेको प्रदर्शनका आधारमा चार महिला र एक पुरुष खेलाडीमा यसमा अटाउन सफल भए ।

मनोनयमा पर्ने ५ मध्ये एक खेलाडी हुन जलपरी गौरिका सिंह । पौडीबाज गौरिका सिंह गत वर्ष भरीनै चर्चाको शिखरमा रहन सफल भईन् । वर्ष २०७६ उनको लागि स्वर्णमय नै रह्यो । गत वर्ष बैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले आफू सहभागी सबै स्पर्धा अर्थात १२ वटै स्पर्धामा स्वर्ण जितेर वर्षको सुरुवात गरिन् ।

यससँगै पाँचौं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले बनाएको १२ स्वर्ण पदकसँग कीर्तिमान बराबरी गरिन् । दक्षिण कोरियामा आयोजित १८ औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिास्टाइलमा प्रतिस्पर्धा गरेकी गौरिकाले १३ औं सागमा भने चार स्वर्ण जित्न सफल भईन् । उनले १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । कीर्तिमानी चार स्वर्ण सहित उनले सागमा थप दुई रजत र दुई काँस्य जितिन् ।

मण्डेकाजी श्रेष्ठ
नेपालका लागि महत्वाकाँक्षी प्रतियोगिताका रुपमा रहेको १३ औं सागको पहिलो दिन स्वर्ण जित्दै उनले प्रतियोगिता सुरुवात गरे । टिम काता र एकल काताबाट एक एक स्वर्ण पदक जितेका मण्डे सागको एकै संस्करणमा करातेबाट दुई स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिप करातेमा नेपाललाई टिम काताको स्वर्ण जिताउने टिमका सदस्य उनी नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपको सिनियर कातामा रजत सहित उत्कृष्ट खेलाडी घोषित भए । वर्षको सुरुवातमा भने उनले आठौं राष्ट्रिय खेलकूदको एकल कातातर्फ स्वर्ण र टिम कातामा रजत जितेका थिए ।

सावित्रा भण्डारी
नेपाली महिला टोलीकी गोल मेसिनको उपमा पाएकी सावित्रा भण्डारी देश भित्र जति सफल भईन् उतिनै देश बाहिरका प्रतियोगितामा पनि अब्बल साबित भईन् । घरेलु फुटबलमा एपिएफबाट खेल्दै आएकी उनले आठौं राष्ट्रिय खेलकुद र प्रधानसेनापति कपमा आफ्नो टोलीलाई स्वर्ण जिताउँदा महत्वपूर्ण भुमिका खेलिन् ।

सहभागी अधिकांश प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी सावित्राका लागि १३ औं साग विषेश बन्यो । प्रतियोगितामा नेपाललाई रजत जिताउँदा उनले व्यक्तिगत कीर्तिमान पनि बनाईन् । नेपालका लागि ३८ गोल गर्दै उनले अनु लामाले गरेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

उनै सावित्राले किर्गिस्तानमा भएको नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन मुख्य भूमिका खेलिन् । देश बाहिर उनले गत वर्ष भारतमा सम्पन्न इन्डियन वुमेन्स लिगको दुई सिजनमा तहल्का मच्चाइन् । सन् २०१८(१९ को सिजन सेथु एफसी र सन् २०१९(२० को सिजन गोकुलम केरलालाई च्याम्पियन बनाउने क्रममा सर्वाधिक गोल मात्र गरिनन्, फाइनलमा निर्णायक गोल गरिन् ।

अरुणा शाही
सागमा भलिबलबाट ऐतिहासिक रजत पदक जित्दा महिला भलिबल टोलीको कप्तानी गरेकी अरुणा घरेलु खेलकुदमा पनि सफल खेलाडी हुन् । सागमा नेपाललाई पहिलो पटक फाइनलसम्म पुर्याउनमा अरुणाको भूमिका महत्वपूर्ण रह्यो ।

उनकै कप्तानीमा नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो ।

सदिना श्रेष्ठ
नेपाललाई टिम गेम्स्बाट सागमा रजत दिलाएको अर्को खेल हो बास्केटबल । फाइनलमा भारतसँग हार्दै नेपालले रजत जित्यो । तर
सागमा महिला बास्केटबल टोलीले पहिलो सहभागीतामै रजत जित्दा उनले सफल कप्तानी गरेकी थिइन् । उनले घरेलु बास्केटबलमा समृद्धि गुरिल्लाजको कप्तानी गर्दै टोलीलाई रजत दिलाएकी थिइन् ।

मनोनयमा परेका यि पाँच खेलाडीमध्येबाट भोटिङ, फेसबुक लाइक, पत्रकार र मुख्य प्रशिक्षकको मतका आधारमा एक जना विजेता घोषणा गरिनेछ । पिपल्स च्वाई अवार्डको विजेता थाहा पाउन भने पुस २८ गते हुने स्पोर्टस अवार्ड कुर्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्